
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ‘हनिमुन पिरियड’ पूरा भएको छ । उनी कार्यकारी निर्देशक भएसँगै झ्याप्प–झ्याप्प बत्ती जाने (ट्रिपिङ) समस्या बढेको छ, जसले जनमानसमा आक्रोश पैदा गरेको छ ।
उनले आफ्नो कार्यकाल फेहरिस्त सुनाउँदै गर्दा उनले प्रणालीमा सुधार भनेका छन् । तर, शाक्यले भनेको जस्तो प्रणालीमा सुधार जनताले अनुभव गर्न पाएका छैनन् ।
शाक्यले कार्यभार सम्हाले लगत्तै जनतामा आक्रोश थियो । सरकारले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई कार्यकारी निर्देशक बनायो । घिसिङलाई हटाएकामा नागरिक सरकारसँग ‘बेखुस’ थिए ।
उता शाक्य पनि तीन महिनामा धेरैजसो समय लोडसेडिङ हुँदैन भन्नेमै समय बिताए । जेठ १ गते धनुषाको ढल्केवरमा आएको चक्रवातले प्राधिकरणको सिस्टम साढे २ घण्टा डाउन गर्यो ।
जसपश्चात् उनले पत्रकार सम्मेलन आयोजना गरी लोडसेडिङ हुँदैन भन्ने अभिव्यक्ति दिनुपर्यो ।
हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या हुँदा बेलुका साढे २ घण्टा अवरुद्ध हुन पुगको थियो । सामाजिक सञ्जाल उनीविरुद्ध लागेपछि उनले पत्रकार सम्मेलन आयोजना गरे र सफाइ दिन खोजे ।
‘ट्रिपिङ’ ले हैरान
कुनै पनि व्यक्तिलाई नयाँ संस्था र त्यसका व्यक्तिहरूबारेमा बुझ्न सय दिन समय पर्याप्त हुन्छ । तर, शाक्य आगमनसँगै अझै ट्रिपिङको समस्या झेल्न बाध्य नै छ । ट्रिपिङ भनेको प्रणालीमा कुनै समस्या लोड अत्यधिक बढ्नु वा कम हुनु, शर्ट सर्किट, जमिनमा लाग्नु, लाइन फल्ट हुनु हो । प्राधिकरणको प्रणालीमा जडित क्षमता तीन हजार ६ सय मेगावाट माथि छ ।
जडित क्षमता बढेपनि खपत धेरै हुन सकेको छैन । प्रणाली सहज हुने अवस्थामा पनि उपभोक्ताले ट्रिपिङको समस्या भोगिरहेका छन् ।
“प्रणाली सुदृढीकरण र ट्रिपिङ समस्या समाधानका लागि सञ्जाल सुदृढीकरण र ऊर्जा सुरक्षाका उपायहरू अपनाइ ग्राहकवर्गसम्म विश्वसनीय विद्युत् पुर्याउन आवश्यक कार्य अगाडि बढाइएको छ” शाक्य भन्छन्, “मानाङ्कको रुपमा ‘साइफाइ’ र ‘सेडी’ जस्ता अन्तर्राष्ट्रिय प्रयोग गरी लाइन ट्रिपिङको सुधार ल्याइने कार्य अगाडि बढाइएको छ ।”
तराई क्षेत्रमा अझै पनि विद्युत् अनियमितताले दैनिकी कष्टकर छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश रुपन्देही तथा भैरहवा क्षेत्रमा अझै विद्युत् अनियमित रहेको बताउँछ ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्मा भन्छन्, “पहिलाको जस्तो समस्या त छैन । उद्योग पनि पूर्ण क्षमतामा चलेका छैनन् । समस्या अझै छ ।”
मधेश प्रदेश तथा कोसी प्रदेशमा सोही प्रकारको समस्या रहेको उद्योगीहरू बताउँछन् । मोफसलमा मात्रै होइन राजधानीमै ‘ट्रिपिङ’ले समस्या छ । मध्य वर्षामा समेत प्राधिकरणले ‘लोड म्यानेज’ गर्न नसक्नुमा नेतृत्वको समस्या रहेको स्वंय प्राधिकरणकै कर्मचारी स्वीकार गर्छन् ।
“एमडी सर मान्छे सोझो हो । उनी विशुद्ध ‘टेक्निकल’ मान्छे हो । उनलाई संस्था कसरी ‘रन’ गराउने हो भन्ने जानकारी छैन,” एक कर्मचारीले बाह्रखरीसँग भने, “पछिल्लो समय उनको कार्य र क्रियाकलाप हेर्दा प्राधिकरण उनको हातबाट चलिरहेको छ भन्नेमा शंका छ ।”
त्यसो त पछिल्लो समय शाक्यको ऊर्जा मन्त्री दीपक खड्कासँग पनि सम्बन्ध बिग्रँदै गएको छ । मन्त्रीले भनेको विषयमा शाक्यले निर्णय नगरेका कारण पनि सम्बन्धमा दरार आएको हो ।
असार २२ गतेभित्र प्राधिकरणका विभिन्न कार्यालय प्रमुखहरूको सरुवा गर्न मन्त्री खड्काले कार्यकारी निर्देशक शाक्यलाई निर्देशन दिए । तर, उक्त विषयमा कुरा नमिल्दा समस्या आएको थियो । तर, खड्का र शाक्यको सम्बन्धमा तेस्रो पक्ष हावी हुँदै गएको स्रोत बताउँछ ।
मंगलबारको पत्रकार सम्मेलनमा पनि मन्त्रीसँग सम्बन्धका विषयमा पत्रकारले सोधेको प्रश्नमा अनुमान गलत भन्न मिल्दैन भनेका थिए ।
“बोर्ड बैठकमा जे जसरी कुरा उठ्यो । त्यो देखाउने दाँत मात्रै हो । कुन पक्षलाई कसरी संस्थामा प्रभाव बढाउन सकिन्छ त्यहीअनुरुप लागि परेका छन्,” स्रोत भन्छ, “पछिल्लो समय राज्यका सबै क्षेत्र कसरी चलिरहेको छ । त्यसमा धेरै भनिरहनु पर्दैन । निश्चित उद्देश्यका लागि प्रयोग भएका व्यक्ति राजीनामा समेत दिन सक्ने अवस्था छैन ।”