-1751679069.jpg)
काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला कलाकारको पारिश्रमिकका विषयमा बहस भइरहेको छ । बहसको केन्द्रमा छन्, हाइपेड कलाकारहरू केदार घिमिरे, समीर भट्ट र अनमोल केसी ।
केदार घिमिरेले यसअघि ५० लाख रुपैयाँ पारिश्रमिक लिएको खबर सार्वजनिक भएको थियो । ‘माग्ने राजा’मा उनलाई आफूले ६१ लाख पारिश्रमिक दिएको निर्माता मुनाल घिमिरे बताउँछन् ।
‘फर्कीफर्की’मा यसअघि निर्माता रोहित अधिकारीले अनमोल केसीलाई ५० लाख रुपैयाँ पारिश्रमिक दिएको प्रमाण नै सार्वजनिक गरेका थिए ।
चलचित्र ‘बलिदान’मा समीर भट्टले ५१ लाख रुपैयाँ पारिश्रमिक लिएका थिए । अहिले उनलाई ७५ लाख पारिश्रमिक अफर गरिरहेको स्वयं निर्माताले अनौपचारिक रूपमा बताउने गरेका छन् ।
कसरी बस्यो यति धेरै पारिश्रमिक दिने ट्रेन्ड ?
रोहितले अनमोल केसीलाई लिड रोलमा लिएर चलचित्र ‘गाजलु’ बनाउँदा दिएको पारिश्रमिकको ठूलो चर्चा भएको थियो । कारण, उनले अनमोललाई १० लाख पारिश्रमिक दिएका थिए । त्यो उक्त समयको सबैभन्दा धेरै पारिश्रमिक थियो ।
त्यसपछि ‘कृ’मा अनमोलले २० लाख पारिश्रमिक लिए । रोहितले गत वर्ष बनाएको चलचित्रमा अनमोललाई नै ‘फर्कीफर्की’मा ५० लाख पारिश्रमिक दिए ।
करिब दुई वर्षअगाडि नै समीरले ‘बलिदान’का निम्ति ५१ लाख रुपैयाँ लिएका थिए ।
दोब्बरले बढ्यो पारिश्रमिक
हिरोले ५०/६० लाख रुपैयाँ लिने भएपछि चलचित्रको बजेट करिब दोब्बरले बढेको छ । हिरोको पारिश्रमिक अकासिएपछि नायिकाले पनि पहिलेको तुलनामा दोब्बरभन्दा धेरै लिन थालेका छन् । पाँच लाखमा काम गरिरहेका नायिकाले १० लाख पारिश्रमिक माग गरिरहेका रोहित बताउँछन् ।
“हिरोको सँगै हिरोइनको पारिश्रमिक पनि बढ्यो । ५० हजारदेखि एक लाख रुपैयाँ लिने सहायक भूमिकामा काम गर्ने कलाकारले चार/पाँच लाख रुपैयाँ लिन थालेका छन्,” रोहित भन्छन् ।
सिनेमाको अधिकांश बजेट पारिश्रमिकमा खर्च हुने गरेको रोहित सुनाउँछन् । सोही कारण सिनेमाका अरू काममा सम्झौता भइरहेको छ ।
“७० प्रतिशतसम्म बजेट अहिले पारिश्रमिकमा खर्च हुन थालिसक्यो । अधिकांश बजेट कलाकार र प्राविधिकको पारिश्रमिकमा खर्च हुन थालेपछि अन्य कममा सम्झौता भइरहेको छ,” रोहित प्रस्ट पार्छन्, “बजेटजति पारिश्रमिकमा खर्च भएपछि सिनेमाका अन्य विधामा खर्च गर्ने पैसा हुँदैन । एकातिर मात्रै बजेट खन्याउँदा अरू काम प्रभावित भइरहेका छन् ।” यसले समग्र सिनेमामा असर गरिरहेको उनको भनाइ छ ।
गलत संस्कार
लिलाम बिक्री बढाबढजस्तो कलाकारको पारिश्रमिक बढाउनु गलत भएको रोहितको निष्कर्ष छ । “यो गलत संस्कार हो । हामीले गल्ती गर्यौँ । अहिले जे भइरहेको छ, यो गलत भइरहेको छ,” रोहित भन्छन्, “मैले पनि गलत गरेँ । मैले अहिले आफूले कमजोरी गरेको महसुस गरिरहेको छु ।”
एकै कलाकारलाई ५०/६० लाख रुपैयाँसम्म दिने संस्कार तत्काल रोक्नुपर्नेमा उनी जोड दिन्छन् । कमजोरी गरिएको भन्दै उनी सच्याउनुपर्ने बताउँछन् ।
“यो व्यावहारिक भएन । यसलाई अब रोक्नैपर्छ । यस्तै अवस्था रहे नेपाली सिनेमामा भयानक कठिन दिन आउनेछ,” उनी भन्छन्, “यस्तैयस्तै कारणले सिनेमाको बजेट चार/पाँच करोड पुगिसक्यो ।”
सामान्यतया नेपाली चलचित्रको बजारअनुसार चार/पाँच करोड लगानी धेरै भएको उनी टिप्पणी गर्छन् । एउटा सिनेमाले राम्रो व्यापार गर्दा १२/१५ करोड हाराहारी कमाउँछ । र, यति ग्रसकलेक्सन गर्दा चार/पाँच करोडमा निर्मित सिनेमाको लगानी उठ्न नै कठिन हुने रोहितको अनुभव छ ।
२०/२५ करोड र त्यसमाथि कलेक्सन गर्ने सिनेमा एकाध रहेकाले त्यसलाई अपवादमा छोड्नुपर्ने उनी बताउँछन् । “एक करोड पारिश्रमिक लिने हिरोको सिनेमाले २०/२२ करोड कमाउने निश्चित हुन्छ भने दिनलाई समस्या भएन,” उनी भन्छन्, “होइन भने अब यसलाई तत्काल रोक्नुपर्छ ।”
स्टारको परीक्षण हुँदै
५०/६० लाख पारिश्रमिक लिने कलाकारका चलचित्र यो वर्ष लगातार रिलिज हुँदै छन् । रोहित भन्छन्, “यो वर्ष हाइपेड कलाकारका चलचित्र आउँदै छन् । त्यसैले हेरौँ, रिजल्ट कस्तो आउँछ । राम्रो आएन भने पारिश्रमिक घटाउनुको विकल्प छैन ।”
समीरको ‘बलिदान’, केदारको ‘माग्ने राजा’ र ‘माइतीघर’ रिलिज हुँदै छ । अनमोलका चलचित्र पनि रिलिज हुँदै छन् ।
निर्माताले धेरै तिरेको छ भन्दैमा चलचित्र नचल्ने रोहित आफैँले अनुभव गरेका छन् । चलचित्र राम्रो नभएसम्म कलाकारले जतिसुकै पारिश्रमिक लिए पनि नचल्ने उनी बताउँछन् ।
“अहिले दर्शकले टिजर र ट्रेलर हेर्दै सिनेमा कस्तो छ भनेर थाहा पाउनुहुने रहेछ । त्यसैले पहिलो र दोस्रो दिन हलमा दर्शक आउन पनि कन्टेनले तान्नुपर्ने भयो,” रोहित अगाडि थप्छन्, “दोस्रो/तेस्रो दिनपछि त कलाकार को छ भन्ने कुराले अर्थ राख्दैन, स्वयं चलचित्र नै राम्रो हुनुपर्छ ।”
स्टारकास्ट भएको ‘कर्मा’ ३० लाख ग्रसकलेक्सनको वरिपरि सीमित रहेको उनी बताउँछन् । रोहित विपीन कार्कीकै ‘ऊनको स्वीटर’ले १२ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको उदाहरण दिन्छन् । उनी अनमोलका दुई चलचित्र ‘छड्के–२’ र ‘फर्कीफर्की’को पनि उदाहरण दिन्छन् ।
‘छड्के–२’ ३० लाखको सेरोफेरोमा उत्रिएको थियो । ‘फर्कीफर्की’ करिब पाँच करोड रुपैयाँ ग्रसकलेक्सन गर्न सफल भएको थियो । यी दुवै चलचित्रमा अनमोल थिए । यसले व्यक्ति को थियो र कति पारिश्रमिक लिएको भन्दा पनि सिनेमा कस्तो भन्नेले बजार निर्धारण गर्ने पुष्टि गरेको उनी बताउँछन् ।
अबका चलचित्रमा कलाकारलाई आफू महँगो पारिश्रमिक तिर्न नसक्ने रोहित स्पष्ट पार्छन् । “अब म आउँदो चलचित्रमा केही निश्चित रकम तिरेर कलाकारलाई सेयरमा राख्ने हो । यसका लागि केही कलाकारसँग कुरा पनि गरिसकेको छु,” रोहित भन्छन्, “पारिश्रमिक बढाउँदैमा बजार बढ्ने भए जति दिए पनि केही फरक पर्दैन थियो । मैले गल्ती महसुस गरिसकेँ ।”
निर्देशक ऋषि लामिछाने चलचित्र व्यापार भएकाले पारिश्रमिक कलाकार र निर्माताबीचको ‘गिभ एन्ड टेक’को विषय भएको टिप्पणी गर्छन् । “कलाकारले मागेको रकम निर्माता दिन तयार छ भने त्यो सायद स्वाभाविक हो,” ऋषि भन्छन्, “हामी त निर्देशक हौँ, कलाकारबाट कसरी काम लिने भन्ने मात्रै हो ।”
विकल्प नहुन सक्छ
कलाकारको पारिश्रमिक बजारले निर्धारण गर्ने उनको बुझाइ छ । कुनै कलाकारको विकल्प नभएको अवस्थामा उसले मागेजति रकम दिनुपर्ने बाध्यता हुनसक्छ । तर, विकल्प भएको अवस्थामा सोच्न सकिने ऋषि बताउँछन् ।
“माग्ने राजामा केदारजीको विकल्प थिएन । त्यसैले उहाँले ५०/६० होइन एक करोड नै मागे पनि सिनेमा बनाउने हो भने दिनुपर्ने अवस्था थियो,” उनी भन्छन्, “तर, जो लिए पनि हुन्छ भन्ने सहज अवस्थामा पक्कै पनि कसैले पनि सकेसम्म ठूलो रकम तिर्दैन ।”
कलाकारले मागेको र निर्माताले पनि दिएको अवस्थालाई सामान्य रूपमा लिनुपर्नेमा उनी जोड दिन्छन् । कलाकारको मिहिनेत, समय र विकल्पविहीन अवस्थामा पारिश्रमिकभन्दा पनि काम लिनतर्फ केन्द्रित हुनुपर्ने उनी स्पष्ट पार्छन् ।
“हामीले काम सुरु गर्दा नेपाली सिनेमा उद्योग लाखमा सीमित थियो । अहिले करोडमा छ । केही समयपछि अर्ब पुग्ला,” ऋषि भन्छन्, “सिनेमाको बिजनेस सधैँ रिस्कमा हो । यो नेपालमा मात्रै होइन संसारभर नै यस्तै हो । रिस्क लिन सक्नेले अहिले कलाकारलाई महँगो पारिश्रमिक तिरिरहेका छन् ।”
स्टारले नै सिनेमा चल्छ भन्ने हुँदैन
स्टारडमले मात्र काम गर्ने अवस्था नरहेको उनी सुनाउँछन् । यो कलाकार लिएर सिनेमा बनाउँदा यति कमाउँछ भन्ने निश्चित नरहेको ऋषि बताउँछन् ।
“स्टारलाई लिएर सिनेमा बनाउँदैमा चल्छ भन्ने हुँदैन । सिनेमा चल्न राम्रो कथा र राम्रो कथावाचन चाहिन्छ,” ऋषि भन्छन्, “निर्देशकले कलाकारबाट कस्तो काम लिने, कस्तो प्रयोग गर्ने सिनेमामा भन्ने हो । कथा र त्यसको सही वाचनले सिनेमा चल्ने हो ।”
स्टार हुँदा सुनमा सुगन्ध हुने तर सिनेमा चल्छ नै भन्ने नहुने उनी स्पष्ट पार्छन् । राम्रो सिनेमा बनेको अवस्थामा स्टार हुँदा मार्केटिङ गर्न सहज हुने उनको भनाइ छ ।
“राम्रो सिनेमा बनेको छ, तर त्यसमा नयाँ कलाकार छन् भने त्यसलाई मार्केटिङ गर्न अलि कठिन होला,” ऋषि भन्छन्, “तर, त्यही ठाउँमा स्टार कलाकार छ भने मार्केटिङ गर्न सहज हुन्छ ।”