
मोगादिशु । सोमालियाको राजधानी मोगादिशुमा बुधबार बिहान भएको एक हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा तीनजनाको ज्यान गएको छ । उक्त हेलिकोप्टर अफ्रिकी संघको ‘सोमालियामा सहयोग तथा स्थायित्व स्थापनार्थ मिसन’ अन्तर्गत सञ्चालनमा रहेको थियो ।
युगान्डाबाट खटिएको सैनिक टोलीद्वारा सञ्चालन गरिएको सो हेलिकोप्टर बिहान करिब साढे ७ बजे मोगादिशुको अदन अब्दुले हवाइ मैदानमा आकस्मिक रूपमा अवतरण गर्न खोज्दा दुर्घटना भएको हो । हेलिकोप्टर बालेडोग्ले सैनिक हवाई आधारशिविरबाट उडेको थियो ।
मिसनले जारी गरेको विवरणअनुसार, सो हेलिकोप्टरमा आठजना सवार थिए, जसमध्ये तीनजनालाई तुरुन्तै उद्धार गरी अस्पताल लगिएको छ । उनीहरूको अवस्थाबारे थप जानकारी दिइएको छैन । बाँकी यात्रु तथा चालक दलका सदस्यहरूको खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।
प्रहरी अधिकृत अब्दी अलीले भने, “दुर्घटनास्थलबाट केही व्यक्तिहरूलाई निकालिएको थियो, तिनीहरूलाई बोकेर लैजाँदै गर्दा तीनजनाको ज्यान गएको पुष्टि भएको छ ।”
प्रत्यक्षदर्शी मोहम्मद यारेले भने,“मैले केही मानिसको ज्यान गएको देखेँ, तर कति जना थिए भन्ने यकिन गर्न सकिनँ ।” रासस/एएफपी