
काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको गुप्तचर प्रतिवेदनले अमेरिकी आक्रमणका कारण इरानी आणविक कार्यक्रम पुरानै अवस्थामा ल्याउन दुई वर्ष लाग्ने दाबी गरेको छ ।
दश दिनअघि अमेरिकी हवाई हमलाले इरानको आणविक कार्यक्रमलाई दुई वर्ष पछिसम्म धकेलेको वा कमजोर पारेको प्रतिवेदनमा उल्लेख छ ।
यो दाबीले अमेरिकी सैन्य कारबाहीले आफ्नो लक्ष्य प्राप्त गरेको संकेत गरेको रोयटर्सले जनाएको छ । यद्यपि, सुरुमा चुहावट भएर मिडियामा आएको मूल्यांकनमा इरानको आणविक स्थलहरूमा धेरै क्षति नभएको उल्लेख थियो ।
पेन्टागनका प्रवक्ता सिन पर्नेलले पत्रकारहरूसँगको अन्तरक्रियामा इरानको आणविक कार्यक्रम दुई वर्ष पछि धकेलेको बताए । तर, पर्नेलले त्यसको प्रमाण भने प्रस्तुत गरेनन् ।
“हामीले उनीहरूको कार्यक्रमलाई कम्तीमा एकदेखि दुई वर्षसम्म कमजोर पारेका छौँ, रक्षा मन्त्रालयभित्रको गुप्तचर मूल्यांकनले यही देखाउँछ,” पर्नेलले पत्रकार सम्मेलनमा भने ।
अमेरिकी सैन्य बमवर्षक विमानहरूले जुन २२ मा इरानका तीन आणविक सुविधाहरूमा आक्रमण गरेका थिए, जसमा एक दर्जनभन्दा बढी ३० हजार पाउन्ड (१३ हजार ६०० किलोग्राम)का बंकर–बस्टर बम र दुई दर्जनभन्दा बढी टमहक ल्यान्ड अट्याक क्रुज मिसाइलहरू प्रयोग गरिएको थियो ।
हमलाको प्रभावबारे अमेरिकी गुप्तचरको पछिल्लो अपडेटलाई नजिकबाट हेरिएको समाचारमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमलापछि तुरुन्तै इरानको आणविक कार्यक्रम पूर्णरूपमा ध्वस्त भएको बताएका थिए ।
गत साता संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायका प्रमुख राफायल ग्रोसीले इरानले केही महिनामा समृद्ध युरेनियम उत्पादन गर्नसक्ने बताएका थिए । जसले अमेरिकी हमलाले तेहरानको आणविक कार्यक्रमलाई नष्ट गर्न कति प्रभावकारी भएको भन्नेमा शंका उत्पन्न गरेको थियो ।
कतिपय विज्ञहरूले इरानले हमलाअघि नै उच्च समृद्ध युरेनियमको भण्डार गहिरो गाडिएको फोर्डो साइटबाट अन्यत्र सारिसकेको र लुकाइरहेको हुनसक्ने बताएका थिए ।
तर, अमेरिकी रक्षा सचिव पिट हेग्सेथले गत साता इरानले आफ्नो उच्च समृद्ध युरेनियमलाई अमेरिकी हमलाबाट जोगाउन अन्यत्र सारेको भन्ने गुप्तचर जानकारी आफूलाई थाहा नभएको बताएका थिए । रोयटर्स