
काठमाडौं । युरोपेली संघ (ईयू)का शीर्ष कूटनीतिज्ञले बुधबार चीनका विदेशमन्त्रीलाई दुर्लभ खनिज तत्वहरू (रेयर अर्थ मेटेरियल)को निर्यातमा लगाइएको प्रतिबन्ध अन्त्य गर्न आग्रह गरेका छन् । चिनियाँ कम्पनीहरूले युक्रेनमा रूसको युद्धलाई समर्थन गरेकाले युरोपेली सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको चेतावनी दिएको ईयूले जनाएको रोयटर्सले उल्लेख गरेको छ ।
युरोपेली संघको विदेश नीति उच्च प्रतिनिधि काजा कालासले ब्रसेल्समा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेपछि ईयूको कूटनीतिक सेवाको यो भनाइ आएको हो ।
कालासले चीनलाई आफ्ना हस्तक्षेपकारी अभ्यासहरू विशेषगरी दुर्लभ खनिज तत्वहरूको निर्यातमा लगाइएको प्रतिबन्धले युरोपेली कम्पनीहरूलाई गम्भीर जोखिम निम्त्याउको र विश्वव्यापी आपूर्ति श्रृंखलाको विश्वसनीयतालाई खतरामा पारेको भन्दै यसको अन्त्य गर्न आह्वान गरेको ईयूले बताएको छ ।
व्यापारको सन्दर्भमा कालासले आर्थिक सम्बन्धलाई सन्तुलनमा ल्याउन, समान अवसर सिर्जना गर्न र बजार पहुँचमा सुधार गर्न ठोस समाधानहरूको माग गरिन् ।
उनले चिनियाँ कम्पनीहरूले रूसको गैरकानुनी युद्धलाई समर्थन गरेर युरोपेली सुरक्षामा उत्पन्न गरेको गम्भीर खतरालाई पनि उजागर गरिन् ।
चीनले युक्रेन युद्धमा रूसलाई सैन्य समर्थन नगरेको दाबी गरेको छ ।
तर, युरोपेली अधिकारीहरूले चिनियाँ कम्पनीहरूले रूसी ड्रोन र युक्रेनमा प्रयोग हुने अन्य हतियारहरूका लागि महत्त्वपूर्ण सहयोग उपलब्ध गराएको बताएका छन् । रोयटर्स