
काठमाडौं । अमेरिकाका विभिन्न सहरमा जारी फिफा क्लब विश्वकप–२०२५ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगिताअन्तर्गत बुधबार राति र बिहान भएको खेलमा रियाल मड्रिडले युभेन्ट्सविरुद्ध र बोरुसिया डर्टमन्डले मोन्टेरीविरुद्ध जित निकालेसँगै अन्तिम–८ टोलीको टुंगो लागेको हो ।
स्पेनिस जायन्ट रियालले युभेन्ट्सविरुद्ध १–० र डर्टमन्डले मोन्टेरीविरुद्ध २–१ को जित निकालेको थियो ।
यो सँगै प्रतियोगिताको अन्तिम–८ मा ब्राजिल र जर्मनीबाट समान दुई टोलीले स्थान बनाएका छन् । यस्तै फ्रान्स, स्पेन, इंग्ल्यान्ड र साउदी अरेबियाका समान एक टोलीले क्वार्टरफाइनल यात्रा तय गरे ।
प्रतियोगिताको अन्तिम आठमा स्पेनको रियाल र जर्मनीको डर्टमन्डसँगै ब्राजिलियन टोली फ्लुमिनेन्स र पाल्मेरसले स्थान सुरक्षित गरे । जर्मनीको बायर्न म्युनिखले स्थान बनाउँदा साउदी प्रो लिगको टोली अल–हिलाल, इंग्ल्यान्डको चेल्सी, फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी) ले अन्तिम–८ को यात्रा तय गरे ।
अब प्रतियोगिताको सेमिफाइनलमा पुग्न फ्लुमिनेन्सले अल–हिलालविरुद्ध खेल्नेछ । पाल्मेरसले चेल्सीसँग, पीएसजीले बायर्नसँग र रियालले डर्टमन्डसँग खेल्ने समीकरण बनेको छ ।
प्रतियोगिताको क्वार्टरफाइनल खेल आगामी शनिबार र आइतबार सञ्चालन हुनेछन् ।