
काठमाडौं । कप्तान सावित्रा भण्डारी (साम्बा)को ह्याट्रिकप्रेरित नेपालले एएफसी महिला एसियन कप छनोटको लगातार दोस्रो जित निकाल्ने क्रममा श्रीलंकाविरुद्ध ८–० को जित निकालेको छ ।
बुधबार उज्वेकिस्तानको सम्पन्न खेलमा नेपालकी कप्तान सावित्राले ह्याट्रिक गरिन् । यस्तै, गीता रानाले दुई गोल गर्दा निशा थोकर, रेखा पौडेल र पुजा रानाले समान एक गोल थपे ।
खेलको आठौँ मिनेटमा गीताको गोलमा नेपालले अग्रता बनाएको थियो । जसलाई २०औँ मिनेटमा सावित्राले दोब्बर बनाइन् । यस्तै, ४२औँ मिनेटमा सावित्राले नै गोल गरेपछि नेपालले अग्रतालाई ३–० मा पुर्याएको थियो । ४५औँ मिनेटमा सावित्राले ह्याट्रिक गरेपछि नेपालले पहिलो हाफमै ४–० को अग्रता बनाएको हो ।
५४औँ मिनेटमा नेपालले पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गरिन् । श्रीलंकन रक्षकले रश्मीकुमारी घिसिङमाथि १८ यार्ड बक्समा फाउल गर्दा नेपालले पेनाल्टी पाएको थियो । जसलाई गीताले सहजै जाली चुमाइन् ।
६२औँ मिनेटमा निशा थोकरको गोलमा नेपालले अग्रतालाई ६–० मा पुर्यायो । ७८औँ मिनेटमा रेखाले गोल गर्दै नेपालको यो अग्रतालाई ७–० मा राखिन् ।
खेलको निर्धारित समय सकिन पुजाले गोल गरेपछि नेपाल खेलमा ८–० अघि रह्यो ।
प्रतियोगितामा यसअघि नेपालले पहिलो खेलमा लाओसविरुद्ध ९–० को जित निकालेको थियो । यता, श्रीलंका भने पहिलो खेलमा उज्वेकिस्तानसँग १०–० ले पराजित भएको थियो ।
प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा नेपाल, श्रीलंका, लाओस र उज्वेकिस्तान छन् । समूहबाट शीर्ष स्थान हासिल गर्ने टोलीले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छ ।