
काठमाडौं । अमेरिकी गुप्तचरले इरानले गत महिना इजरायली हमलाहरूपछि पर्सियन खाडीमा जहाजहरूमा नौसैनिक माइनहरू (समुद्रमा जहाजहरूलाई क्षति पुर्याउने वा नष्ट गर्न प्रयोग गरिने विस्फोटक उपकरणहरू) लोड गरेको पत्ता लगाएको छ ।
इरानको सेनाले गत महिना पर्सियन खाडीमा जहाजहरूमा नौसैनिक माइनहरू लोड गरेको रोयटर्सले जनाएको छ । यसले अमेरिकालाई होर्मुज स्ट्रेटमा सम्भावित नाकाबन्दीको चिन्ता बढाएको रोयटर्सले जनाएको छ ।
यो कदम इरानका विभिन्न स्थानमा इजरायली हमलापछि आएको हो ।
माइनहरू होर्मुज स्ट्रेटमा तैनाथ नगरे पनि यसले इरानले विश्वको सबैभन्दा व्यस्त सामुन्द्रिक जल मार्गमध्ये एक बन्द गर्ने विषयमा गम्भीर भएको हुनसक्ने संकेत गर्छ । यस्तो कदमले चलिरहेको द्वन्द्वलाई उल्लेखनीय रूपमा बढाउने र विश्वव्यापी व्यापारमा गम्भीर असर पार्ने बताइएको छ ।
किनभने यो विश्वको करिब पाँच भागमध्ये एक भाग तेल र ग्यास ढुवानी होर्मुज स्ट्रेट हुँदै जान्छ ।
ह्वाइट हाउसका एक अधिकारीले इरानको तयारीबारे टिप्पणी गर्न आग्रह गर्दा कार्यालयले रोयटर्सलाई बताउँदै भन्यो, “राष्ट्रपतिको उत्कृष्ट नेतृत्वमा अपरेसन मिडनाइट ह्यामर, हुथीहरूमाथिको सफल अभियान र कडा दबाबका कारण होर्मुज स्ट्रेट खुला छ । जहाजहरू स्वतन्त्र रूपमा चलेका छन् । र, इरान निकै कमजोर भएको छ ।”
अमेरिकी अधिकारीहरूले माइन लोड गर्ने कार्य इरानको अमेरिकालाई समस्या समाधान गर्न विश्वास दिलाउने नक्कली कदमको सम्भावना हुनसक्ने बताएका छन् । तर, होर्मुज स्ट्रेट बन्द गर्ने वास्तविक नियत नहुन सक्ने पनि उनीहरूले बताएका छन् ।
यो इरानको नेतृत्वबाट आदेश आउने सन्दर्भमा वैकल्पिक तयारीको उपाय पनि हुनसक्ने बताइएको छ । रोयटर्स