site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजेट संशोधनले खुसी इप्पान, पहुँचवालाको मात्रै पीपीए हुने जोखिम

काठमाडौं ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूखुसी बजेट वक्तव्यमा राखेको ‘टेक एन्ड पे’मा रकमी शब्द संशोधनमा निजी क्षेत्र शंकासहित खुसी देखिएको छ । 

सरकारले ‘टेक एन्ड पे’ को व्यवस्था हटाएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल, (इप्पान)ले बिहीबार पत्रकार सम्मेलन गर्दै स्वागत गर्‍यो ।

इप्पानले संसद्मा अत्यधिक बहुमतको सरकारले ल्याएको बजेट विशेष अवस्थामा पनि परिवर्तन नहुने विगतको परम्परा तोड्दै ‘टेक एन्ड पे’ पीपीएको प्रावधान हट्नु ठूलो कुरा भएको टिप्पणी गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, सत्तारुढ दल नेपाली कांग्रेसको दबाबपछि मात्रै अर्थमन्त्री पौडेलले गोलमटोल संशोधन गरेका हुन् । ‘टेक एन्ड पे’ मा परेको ‘रकमी’ शब्दावलीले अब हुने पीपीए ‘पहुँच र पैसा’ खेल हुने देखिन्छ ।

जेठ १५ गतेको बजेट वक्तव्यको २२७ बुँदामा, “जलविद्युत् आयोजना सम्पन्न हुने समय तालिकासँग संगति मिल्नेगरी सबस्टेसन र प्रसारण लाइन निर्माण गरिनेछ । विद्युत् उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी विद्युत् खरिद सम्झौता गर्ने नीति लिइनेछ । ‘रन अफ रिभर’ आयोजनाको ‘टेक एन्ड पे’ अवधारणाअनुरूप विद्युत् खरिद सम्झौता गरिनेछ ।”

उक्त बुँदा संशोधन गर्दै असार १० गते, “वित्तीय जोखिम मूल्यांकनको आधारमा ऊर्जा खपत वा निर्यात हुने यकिन भएका र नेपाल विद्युत् प्राधिकरणले दायित्व भुक्तान सुनिश्चित भएका आयोजनाको विद्युत् खरिद सम्झौता गर्न सकिनेछ ।” 

संशोधन गरेको बुँदा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा भाषण गरे ।  

‘टेक एन्ड पे’ पीपीएको प्रावधान हटेपछि नियमित रहेको र घोषणापछि बन्द भएको १० मेगावाटसम्मको पीपीएले निरन्तरता पाउने इप्पानको भनाइ छ । 

पहुँचवालाको मात्रै पीपीए !

सरकारको संशोधनको भाषाले पुहँचवालाको मात्रै पीपीए हुने जोखिम बढेको छ । ‘टेक एन्ड पे’ नराखे पनि सरकारको संशोधित भाषाले ‘पैसा र पहुँच’मा मात्रै पीपीए हुने देखिएको ऊर्जा विज्ञहरू बताउँछन् । 

वित्तीय जोखिमको मूल्यांकन, खपत र निर्यातको सुनिश्चितता, प्राधिकरणले तिर्न सक्ने भाषा प्रयोग भएपछि ‘पैसा र पहुँच’को आधारमा मात्रै पीपीएको सम्भावना बढेको हो । प्राधिकरणको अधिकार रहेको ‘टेक अर पे’ तथा ‘टेक एन्ड पे’ जस्ता प्राविधिक शब्दावली बजेटमा राख्नु नै गलत रहेको ग्रीन इनर्जी अन्ट्रप्रेनर नेपालका अध्यक्ष सूर्यप्रसाद अधिकारी बताउँछन् । 

“बजेटमा राख्नै नपर्ने शब्द राखेर संशोधनको नाममा झन् गोलमटोल शब्द प्रयोग गरेको छ,” उनले भने, “अब वित्तीय जोखिम कसले मूल्यांकन गर्ने ? निर्यात हुन कस्ता आयोजना बन्ने ? प्राधिकरणले त अब पीपीए धान्न सक्दैन भनिसकेको अवस्था छ । यो हिसाबले पीपीए हुन्छ ?”

सरकारले ‘टेक एन्ड पे’ संशोधनका नाममा ठूला र निर्यात हुने आयोजनाको मात्रै बिजुली किन्ने बाटो बनाएको अधिकारी बताउँछन् ।

“आफू पनि बजार नखोज्ने र निजी क्षेत्रलाई खरिद–बिक्रीको बाटो नखोल्ने अनि पीपीएमा विभिन्न कन्डिसन राख्ने ? यस्तो अवस्थाले कसरी यस क्षेत्रको विकास हुन्छ ?” उनले प्रश्न गरे, “प्राधिकरणले किन्न सक्दैन भने निजीलाई ‘बनाऊ र बेच’ भनी बजार खोलिदिए हुँदैन र ?”

‘टेक एन्ड पे’ को संशोधनले ‘निर्यात’ शब्द राखेर जलविद्युत्मा चिनियाँ लगानी र ठेकेदारलाई सरकारले औपचारिक रूपमै निषेध गरेको नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा प्रा.डा. मुकेश काफ्ले बताउँछन् । ippan-1750940448.jpg

काफ्ले सरकारले घुमाउँरो पारामा ऊर्जा प्रवद्र्धकलाई निरुत्साहित गरेको र संशोधनको शब्दावली झनै गोलमटोल रहेको बताउँछन् ।

“पहिलो त, यो बजेटमा राख्ने कुरै थिएन । बजेटमा किन आयो भन्ने रहस्यमय छ । अर्को ‘टेक एन्ड पे’लाई घुमाएर राखेको छ,” उनले भने, “वित्तीय जोखिम मूल्यांकन कसले गर्ने ? ऊर्जा खपत वा निर्यात हुने यकिन, प्राधिकरणले दायित्व भुक्तान सुनिश्चित गर्ने कसले ? यस्ता शब्दावलीले कसरी पीपीए हुन्छ ?”

बजेट वक्तव्यमा निर्यात र खपतको विषय जोडेर सरकारले चिनियाँ ठेकेदार र लगानीलाई घोषित रूपमा निषेध गरेको काफ्ले बताउँछन् । 

“अब बन्ने आयोजना भनेको वर्षायाममा निर्यात गर्ने र हिउँदयाममा खपत गर्ने हो,” उनले भने, “भारतले चिनियाँ लगानीमा मात्रै होइन चिनियाँ ठेकेदार भएका आयोजनाको बिजुली पनि किनेको छैन । बजेटमै यस्तो शब्द राखेर असल छिमेकीसँग नै सम्बन्ध बिग्रिने कसले ल्यायो यो नौलो विषय रह्यो ।”

इप्पान अध्यक्ष गणेश कार्की “‘टेक एन्ड पे’ भनेको बिजली उत्पादन गर्नुस् म किन्दिनँ नै भनेको हो,” उनले भने, “यो शब्द हटाउने बित्तिकै म बिजुली किन्छु भन्ने होइन । यसमा धेरै समस्या छन् । ‘टेक अर पे’ मा पीपीए गरेका आयोजनाको बिजुली पनि धेरै खेर गइरहेको छन् ।”

‘टेक एण्ड पे’ हटेपछि बैंकले लगानी गर्ने भएका कारण पनि निजी सकारात्मक रहेको कार्कीको भनाइ छ ।

“अझै पनि धेरै आयोजना ‘टेक एन्ड पे’ मै छन् । प्रसारण लाइन बनेका छैनन् । दोर्दी करिडरमै झन्डै १५० मेगावाट जतिका आयोजना खेर गएका छन्,” उनले भने, “२०७५ सालमा बन्नुपर्ने ट्रान्समिसन लाइन आजसम्म बन्या छैन । बिजुली खेर गइरहेको छ ।”

अर्थमन्त्रीले ‘टेक एन्ड पे’ खेल भित्र्याउँदै जलविद्युत् क्षेत्र ध्वस्त बनाउन लागेपछि निजीय क्षेत्र आन्दोलित भएको थियो । 

विभागीय मन्त्रीलाई समेत छलेर ‘चोर’ बाटो प्रयोग गर्दै ‘टेक एन्ड पे’ ल्याएको एमाले नेतृत्वले कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनमै असर पर्छ भनेपछि संशोधन गर्न बाध्य भयो । 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्