site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलविरुद्धको द्वन्द्वमा इरानसँग के–के विकल्प छन् ?

काठमाडौं । इरानले तीन दिनसम्म इजरायली हमला झेलिसकेको छ, जसमा वरिष्ठ सैनिक नेतृत्वसहित २४० भन्दा बढी इरानीहरूको मृत्यु भएको छ । तर, इरानले आफ्नो प्रतिक्रियामा इजरायलले कहिल्यै अनुभव नगरेको जवाफी हमला गरेको छ । इरानी मिसाइलले इजरायलका तेल अभिभ र हाइफाजस्ता ठूला सहरहरूमा ठूलो क्षति पुर्‍याएको छ । 

दुवै पक्षले कति क्षति पुर्‍याएको छ र कुन–कुन स्थानहरू क्षतिग्रस्त भएका छन् भन्ने अझै अस्पष्ट छ । दुवै पक्षसँग आफ्नो भण्डारणमा कति मिसाइल र गोलाबारूद बाँकी छ र इजरायल र इरानले यो लडाइँ कति समयसम्म कायम राख्न सक्छन् भन्ने यकिन जानकारी पाउन कठिन छ । 

तर, इरानसँग मध्यपूर्वमै सबैभन्दा ठूलो मिसाइल कार्यक्रम रहेको धेरैको विश्वास छ ।  विभिन्न दूरी र गतिका हजारौँ ब्यालिस्टिक मिसाइलहरू उपलब्ध छन् । इरानले हप्तौँसम्म इजरायलमाथि आक्रमण जारी राख्नसक्ने अहिले उसले गरेको आक्रमणले देखाएको छ । यसले इजरायललाई गम्भीर क्षति पुर्‍याउनसक्छ । यस्तो अवस्था त्यहाँका नागरिकहरूले गाजा पट्टी, लेबनान र यमनका कमजोर सशस्त्र समूहहरूबाट हुने सीमित आक्रमणबाहेक पहिले कहिल्यै अनुभव गरेका थिएनन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इरानले आफ्ना उन्नत मिसाइलहरू कति प्रभावकारी छन् भन्ने देखाइसकेको छ । आइतबार पहिलोपटक प्रयोग गरिएको ‘हाज कासिम’ मिसाइलले इजरायली वायु सुरक्षा प्रणालीलाई छल्न सफल भएको थियो । इजरायलबाट प्रसारित भिडियोले यसले इरानले पहिले प्रयोग गरेका पुराना मिसाइलहरूभन्दा धेरै बढी शक्ति र गति प्रदर्शन गरेको देखाउँछ ।

इरानसँग यस्ता उन्नत मिसाइलहरू असीमित संख्यामा छैनन् । त्यसैले अन्ततः उनीहरूले यसको प्रयोग सीमित गर्नुपर्नेछ । तर, विकसित मिसाइलहरू र हजारौँ ड्रोनहरूको साथमा इरानसँग इजरायललाई क्षति पुर्‍याउन पर्‍याप्त सैन्य क्षमता छ । यसले इरानसँग छोटो अवधिको युद्ध लड्नसक्छ भन्ने विश्वास गर्नेहरूलाई आश्चर्यमा पार्छ । 

अमेरिकासँग युद्ध टार्ने प्रयास
इरानको मिसाइल हमलाले इजरायलको आइरन डोम प्रणालीलाई गम्भीर चुनौती दिएको छ । तर, इजरायलले आफ्नो प्रमुख सहयोगी अमेरिकाको सहयोग लिन सफल भएको छ, जसले हमला रोक्न मद्दत गरिरहेको छ ।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिकाले उनीहरू इजरायल–इरान द्वन्द्वको पक्ष छैनन् भन्ने जोड दिएका छन् । इरानले मध्यपूर्वमा फैलिएका अमेरिकी सैन्य अड्डाहरूमा हमला गर्‍यो भने यसको गम्भीर परिणाम हुने उनले चेतावनी दिएका छन् ।

इरानका लागि अमेरिकी अड्डा वा कर्मचारीहरूमा हमला नगर्नु नै उत्तम हो । सर्वोच्च नेता अयातुल्लाह अली खामेनेई सतर्कतापूर्वक कदम चाल्ने गर्छन् । उनी अमेरिकासँग प्रत्यक्ष टकराब वा वासिङ्टनलाई इजरायलको पक्षमा सैन्य शक्ति थप्ने बहाना दिन चाहँदैनन् ।

इजरायल र अमेरिकाको संयुक्त हमलाले इरानका सबैभन्दा सुरक्षित परमाणु साइटहरू ध्वस्त पार्न सक्नेछ । र, इजरायललाई अझ बलियो स्थितिमा पुर्‍याउनेछ । यसले कुवेत, कतार, साउदी अरब र टर्कीजस्ता देशहरूमा रहेका अमेरिकी अड्डाहरूमा पनि हमला हुने सम्भावना छ । यी देशहरू इरानका प्रत्यक्ष शत्रु होइनन् । तेहरानले यी देशहरूलाई यस द्वन्द्वमा समावेश गर्न चाहँदैन । यी देशहरू इरानका लागि सम्भावित मध्यस्थको रूपमा पनि महत्त्वपूर्ण हुन सक्छन् ।

तर, इरानसँग अन्य विकल्पहरू पनि छन् । यसले बारम्बार स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द गर्ने धम्की दिएको छ, जुन इरान र ओमानबीच अवस्थित छ । यसबाट दैनिक लाखौँ  ब्यारेल तेल ढुवानी हुन्छ । विशेषज्ञहरूका अनुसार यदि, यस्तो भयो भने तेलको मूल्य १०० डलरभन्दा बढी हुनेछ । यो शुक्रबारसम्म ७८ डलर प्रतिब्यारेलसम्म पुगेर फेरि झरेको थियो ।

स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द गर्ने इरानको हातमा रहेको एक शक्तिशाली हतियार हो । र, युद्ध जारी रहँदा यो सम्भावना पनि छ ।

समाधानका विकल्पहरू
अन्ततः इरानले यस्तो बाटो खोज्दै छ जसले यो द्वन्द्वलाई अन्त्य गर्न सक्छ । यो द्वन्द्व क्षेत्रीय युद्धमा परिणत हुने, दुई परमाणु शक्तिहरू (इजरायल र अमेरिका)विरुद्ध लड्ने र आफ्नै अर्थतन्त्रलाई ठूलो क्षति पुर्‍याउने जोखिम छ । यसले घरेलु अशान्ति पनि जन्माउन सक्छ ।

इजरायलको आफ्नो युद्ध सहने सीमा भए पनि अमेरिकाको समर्थनले यसलाई इरानभन्दा सजिलै गोलाबारूद भण्डारण पूरा गर्न सक्षम रहेको इरानलाई थाहा छ । 

इरानी सरकारले इजरायलले आक्रमण रोक्यो भने उनीहरू पनि प्रतिक्रियास्वरुप आक्रमण रोक्नेछन् र अमेरिकासँग परमाणु वार्तामा फर्कने इच्छुक रहेको बताइसकेको छ । इरानी विदेश मन्त्री अब्बास आराघचीले आइतबार भने, “इजरायलीे हमला रोकिएपछि, हामी स्वाभाविक रूपमा प्रतिक्रिया रोक्नेछौँ ।”

यद्यपि, यो अमेरिकामा निर्भर छ । ट्रम्पले इजरायल र प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई हमला रोक्न दबाब दिनुपर्छ । तर, अमेरिकी राष्ट्रपति यो गर्न इच्छुक छन् वा छैनन् भन्ने स्पष्ट छैन ।

ट्रम्पको यस द्वन्द्वको बारेमा बोल्ने शैली निरन्तर परिवर्तन हुँदै छ । एकातिर, उनले द्वन्द्व रोक्न आह्वान गरेका छन्, अर्कोतिर उनले इरानलाई धम्की पनि दिएका छन् ।

ट्रम्प भर पर्न वा विश्वास गर्न योग्यव्यक्ति होइनन् भन्ने जानकारी इरानलाई छ । गत हप्ता इजरायली हमलाको पूर्वसन्ध्यामा अमेरिका धोखाधडीमा संलग्न थियो । इजरायलले हमला गर्न लागेको गोप्य रूपमा थाहा हुँदा पनि अमेरिकाले इरानसँग परमाणु वार्ता आइतबारसम्म जारी रहनेछ भन्ने ‘नाटक’ गरिरहेको थियो ।

यद्यपि, अमेरिकी मध्यस्थतामा सम्झौता इरानसँग रहेको सबैभन्दा सम्भावित विकल्प हो जसले इजरायललाई नियन्त्रणमा राख्न र यो द्वन्द्व अन्त्य गर्नसक्छ । यसले इरानको शक्ति देखाएको छ । तर, यसलाई लामो समयसम्म कायम राख्न उनीहरूका कठिन हुनेछ । अलजजिरा

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्