site stats
बाह्रखरी :: Baahrakhari
देश
अवरुद्ध नाला–भक्तपुर सडकखण्ड ह्युमपाइप राखेर खुलाइयो

काभ्रेपलाञ्चोक । अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आइतबार (असार २२) बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ । काभ्रेको बनेपा नगरपालिका–४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार (असार २०) राति भाँचिएपछि उक्त सडकमा यातायात अवरुद्ध भएको थियो ।

गए राति (असार २१) ६ ठूलठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरिएपछि आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ । बनेपा नगरपालिका र सडक विभागको समन्वयमा अस्थायी रूपमा बाटो खुलाइएको उक्त कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काभ्रेको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त बाटो राजधानी काठमाडौंको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ । उक्त पुल ०३७ सालमा निर्माण गरिएको जनाइएको छ ।

स्थानीयका अनुसार, शुक्रबार राति मालवाहक गाडी पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो । पुल भाँचिएपछि त्यहाँ सवारीसाधन पूर्णतः रोक लगाइएको थियो । 

हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म सडक विस्तार गरिँदै छ । सोही कारण विगत दुई वर्षदेखि राजमार्गमा चल्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्डबाट गुडाइन्थ्यो । रासस

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्