
काठमाडौं । भारतको अहमदाबादमा बिहीबार (जुन १२) दिउँसो एयर इन्डियाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ । विमानमा २४२ जना सवार थिए ।
एयर इन्डियाका अनुसार, दुर्घटनाग्रस्त बोइङ ७८७–८ विमानमा १६९ भारतीय, ५३ बेलायती, एक क्यानेडियन र सात पोर्चुगलका नागरिक सवार थिए । विमानमा २३० वयस्क यात्री, दुई शिशु र चालक दलका १० सदस्य थिए ।
अहमदाबादबाट बेलायतको लन्डन गेटविक विमानस्थलका निम्ति उडेको विमान दुर्घटना भएको हो । स्थानीय समयानुसार दिउँसो १ बजेर ३८ मिनेटमा विमान अहमदाबादबाट उडेको थियो । त्यसको पाँच मिनेटपछि विमान दुर्घटना भएको भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज किदवाईले बीबीसी हिन्दीलाई बताएका छन् ।
विमानमा भारतको गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीलगायत यात्री सवार थिए । विमान विमानस्थलको पर्खाल र हवाई भन्सार कार्गो कार्यालयनजिकै दुर्घटना भएको हो । दुर्घटनास्थलबाट केही शव निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेलाई उपचारका निम्ति नजिकैका अस्पतालमा लगिएको एयर इन्डियाले जनाएको छ ।
थप तस्बिर हेर्नोस्–