
काठमाडौं । नवप्रवेशी शीर्ष डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेड एन्फा यू–१६ युथ लिगमा ४–० ले विजयी भएको छ । शनिबार (असार २१) सातादोबाटोस्थित एन्फा मुख्यालयमा प्लानिङले सातदोबाटो युथ क्लबलाई पराजित गरेको हो ।
प्लानिङको जितमा रविन लुङगेलीमगर र ओम खड्काले समान दुई गोल गरे । खेलको १३औँ मिनेटमा ओमले टोलीलाई अग्रता दिलाएका थिए । रविनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।
६०औँ मिनेटमा ओमले दोस्रो गोल गर्दै टोलीलाई ३–० को अग्रतामा राखे । ६६औँ मिनेटमा रविनले चौथो गोल गर्दै टोलीको फराकिलो जित निश्चित गरे ।
जितसँगै शीर्ष डिभिजनमा ‘डेब्यु’ गरेको प्लानिङले लिगमा तीन अंक जोडेको छ । प्लानिङले अब अर्काे खेल मंगलबार (असार २४) मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ ।
हारबाट लिगको सुरुआत गरेको सातदोबाटोले अब अर्काे खेल सोमबार (असार २३) मनाङ–मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।