
काठमाडौं । चीनले यो वर्षको अन्त्यसम्म सबै (५००+ शय्या भएका) तृतीयस्तरीय अस्पतालमा प्रसूतिका बेला एपिड्युरल एनेस्थेसिया अनिवार्य गर्ने निर्णय गरेको छ । यसबाट महिलालाई मैत्रीपूर्ण चाइल्ड डेलिभरी अवस्था सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
सन् २०२७ सम्ममा (१००+ शय्या भएका) द्वितीयस्तरीय अस्पतालले पनि यो सेवा उपलब्ध गराउनुपर्नेछ । हाल चीनमा केवल ३० प्रतिशत गर्भवतीले एपिड्युरल प्रयोग गर्छन् । जबकि, चीनजस्तै अरू विकसित देशमा यसको प्रयोग ७० प्रतिशतसम्म रहेको रोयटर्सले जनाएको छ ।
फ्रान्समा ८२, अमेरिका र क्यानडा समान ६७ प्रतिशत एपिड्युरले प्रयोग गर्छन् । विश्व स्वास्थ्य संगठनले यसलाई सुरक्षित र प्रभावकारी पद्धति मान्छ ।
चीनको जन्मदरमा तेस्रोपटक गिरावट भएको छ । यसमा सुधार गर्न चीनको दक्षिण सिचुवान प्रान्तले अरू उपायका रूपमा प्रसूति खर्च बिमा कभरेजमा समावेश मातृत्व बिदा १५० र विवाह बिदा २५ दिनसम्म विस्तार गरेको छ । यो प्रयासले महिलाको प्रसूति अनुभव सुधारेर जन्मदर बढाउने आशा गरिएको छ ।
“यस कदमले चिकित्सा सेवाको सुविधा र सुरक्षास्तरमा सुधार ल्याउने र नागरिकलाई खुसीको अनुभूति बढाउन र सौहार्दपूर्ण प्रसूति वातावरण प्रवर्द्धन गर्न मद्दत गर्नेछ,” राष्ट्रिय स्वास्थ्य आयोगले भनेको छ ।
चीनका धेरै प्रान्तले महिलालाई सन्तान जन्माउन प्रोत्साहन गर्न प्रसूति एनेस्थेसियाको लागत आफ्नो चिकित्सा बिमा योजनामा समावेश गर्ने कार्य बढ्दै गएको जनाइएको छ ।