
काठमाडौंं । राजनीतिमा एकले अर्कालाई स्थापित गराउन भूमिका खेलेका विद्यादेवी भण्डारी र केपी शर्मा ओली उत्तरार्धमा पदकै लागि भिड्लान् ? एमालेभित्र यो प्रश्न खडा भएको छ । ओली एमालेको अध्यक्ष र प्रधानमन्त्रीको कुर्सीमा छन्, भण्डारीले दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालिन् । उनी यतिखेर पदविहीन छन् ।
एमाले अध्यक्षको रुपमा ओलीको दोस्रो कार्यकाल हो भने प्रधानमन्त्रीको रुपमा चौथो । एमालेको भावी अध्यक्ष भण्डारी बन्ने गरी चर्चा गरिँदैछ । र, तयारी पनि भएको उनी निकट नेताहरूको तर्क छ । खुलेर नभने पनि भण्डारीले त्यो चाहना स्पष्ट पारिसकेकी छन् । उनी कार्यकर्ता भेटघाटमा उनको देश दौडाहामा छन्
उता पार्टीमा अझै २० वर्ष आफैँले नेतृत्व गर्ने ओलीको सार्वजनिक बोली सुन्दा ‘सम्बन्ध’मा साच्चै दरार देखाउँछ ।
कुनै बेला ओलीलाई अध्यक्ष बन्न र भण्डारीलाई राष्ट्रपति बनाउन एकले अर्कालाई सहयोग गरेकै हुन् । उनीहरूबीचको उनीहरूको ‘सहकार्य’ पार्टीभित्र प्रशंसाको विषय बन्ने गरेको थियो ।
नाम खुलाउन नचाहेका एमालेका नेता भन्छन् , “ओलीलाई यो ठाउँसम्म स्थापित गर्न विद्या भण्डारीको भूमिका महत्वपूर्ण छ । मदन भण्डारी त सहकार्य गर्न नपाउँदै बित्नुभयो । ‘जनताको बहुदलीय जनवाद’ मदन भण्डारीको विचारको विरासत क्यास गरेर न केपी ओली, ‘केपी ओली’ बन्नुभयो ।”
उनी थप्छन्, “उता विद्या भण्डारीलाई स्थापित गराउनुभएको फेरि केपी ओलीले नै हो । माधवकुमार नेपाल या झलनाथ खनालले त होइन । उहाँहरूको सम्बन्ध दोहोरो छ ।”
राजनीतिक उतार–चढावमा एकले अर्कालाई साथ दिए । ०७१ सालको नवौँ महाधिवेशनबाट ओलीलाई अध्यक्ष बनाउन भण्डारीले भूमिका खेलिन् । उनी उपाध्यक्षमा दोहोरिइन् ।
२०७२ असोजमा ओली पहिलोपटक प्रधानमन्त्री बने । उनकै पहलमा भण्डारी पहिलो महिला राष्ट्रपति बनिन्, ०७२ कात्तिक ११ गते ।
उनी ०७४ फागुन २९ मा दोस्रो कार्यकालका लागि राष्ट्रपति बनिन् । नेकपा विवादमा तत्कालीन प्रधानमन्त्री ओलीलाई शक्तिशाली तुल्याउन राष्ट्रपति पदकै दुरुपोग गरिन्, भण्डारीले । जतिखेर ‘राष्ट्रपति कार्यालयलाई ओलीले आफ्नै शाखा बनाएको’ आरोप खेपिन् ।
भण्डारी २०७९ फागुन २९ गते शीतलनिवासबाट बाहिरिएकी थिइन् । यतिखेर जब भण्डारी सक्रिय राजनीतिमा फिर्ता हुन खोजेपछि ओेलीको लाक्षणिक प्रहार तीव्र भएको छ ।
भण्डारीले पनि अध्यक्ष बन्न खोजेको भनी आएका टिप्पणीको प्रतिवाद गरेकी छैनन् । उनी पार्टीका कार्यक्रममा सहभागी भइरहेकी छन् । उता एमालेको भावी अध्यक्ष बन्ने चाहनाप्रति लक्षित ओलीको बोली प्रखर हुँदै गएको छ ।
हालैमात्र कोसी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापामा आयोजना गरेको विज्ञान प्रविधि प्रदर्शनीलगायतका कार्यक्रममा सहभागी बनिन् । उनी मंगलबार मात्रै काठमाडौं फर्र्किएकी छन् । उनी झापामा रहँदा एमाले अध्यक्ष ओलीले उनी लक्षित गर्र्दै दिएको टिप्पणीले चर्चा पायो ।
ओलीले जेठ २५ गते अनेरास्ववियुको २४औँ सम्मेलनको उद्घाटन गर्दै महाधिवेशन नलाग्दै ‘को आउने’ भन्ने चर्चा गरिएको भन्दै आपत्ति व्यक्त गरे ।
“अर्को खेल हुन खोजेको छ, यहाँ अब फलाना आउने अरे, फलाना आउने अरे, यस्तो यस्तो । पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, महाधिवेशन घोषणै भएको छैन,” उनले भनेका थिए ।
विद्या भण्डारी पूर्वको बसाइका क्रममा पार्टीका कार्यक्रममा मात्रै सहभागी भइनन् कि उनले नेता, कार्यकर्ताको मनोभाव बुझिन् । उनले भेटमा धेरै कुरा नबोल्ने र कुरा सुन्ने गरेको नेताहरू बताउँछन् । नेतृत्व लिनुपर्यो भन्ने कार्यकर्ताको सुझावमा उनको जवाफ रहने गर्छ, “तपाईंहरू सल्लाह गर्नुस् न ।”
उनले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कार्यकर्ता भेट्न कसैको अनुमति लिइरहनु नपर्ने भन्दै ओलीलाई घुमाउरो तरिकाले जवाफ फर्काइन् । उनले भनिन्, ‘‘मैले कुनै गुट बनाएको छैन ।’’
७० वर्षे उमेर हदको बहस
एमालेको विधान महाधिवेशन आउन करिब तीन महिना बाँकी छ । आउँदो भदौ २१, २२ र २३ गते गर्नेगरी तय भएको छ । २०७८ असोजमा भएको पहिलो विधान महाधिवेशनले राखेको ७० वर्षे उमेर हदबारे बहस फेरि छेडिएको छ ।
एमाले सचिवालय बैठकले २०८० जेठ १९ गते उक्त प्रावधान निलम्बन गरेको थियो । पार्टीका अध्यक्ष ओलीले नै ७० वर्षे उमेरहदका विषयमा जेठ २५ गते लामो अभिव्यक्ति दिए । अनेरास्ववियुको २४औँ सम्मेलनको उद्घाटन गर्दै ओलीले ७० वर्षे उमेरहद नराखिने स्पष्ट पारेका छन् ।
“७० वर्षे उमेरहद फेल खाइसक्यो । म ७४ मा चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन र ? चार वर्ष घटाउन भएन क्यारे उमेर । स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हुन्,” ओलीले भनेका थिए ।
उनले चीन, साइप्रसको पार्टीको उदाहारण पनि प्रस्तुत गरेका थिए ।
ओलीले भने, “चीनमा दुईपटक मात्रै अध्यक्ष हुन पाइने भन्ने बनाएको थियो । महासचिव, राष्ट्रपति दुईपटक हुन पाउने नियम बनाएको थियो । सी जिन पिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ७० वर्ष पनि हुँदैन । ६५ लगाउनुभएको, ७२ पुगिसक्नु भयो, सी जिन पिङ । साइप्रसको कम्युनिस्ट पार्टीले ६५ तोकेको थियो, छाड्नुभयो । अरु विभिन्न पार्टीले उमेरहद तोकेका थिए, छोडे ।”
ओलीका कुरा सुन्दा उमेर हदलाई औचित्यहीन बनाउने स्पष्ट छ ।
ओलीले भनेका थिए, “उमेरले होइन अरु थुप्रै फ्याक्टर हुँदा रहेछन् । आवश्यकताहरू थुप्रै पर्दा रहेछन् । मै हुन्छु भन्ने होइन । कुनै एउटा जडसूत्रको रुपमा हेर्ने होइन ।”
उनले विगतमा पार्टीका नेताहरूलाई ७० वर्ष नपुगी नेतृत्वबाट हटाउनुपरेको सुनाए ।
उनले भने, “माधव नेपाललाई ७० पुगेर हटाएको होइन, झलनाथजीलाई ७० पुगेर हटाएको होइन । हटाउनुपर्ने हुँदो रहेछ । ७० पुगेर पनि हटाउन मिल्दो रहेनछ, मनमोहनजीलाई ७८ वर्षसम्म पनि हामीले हटाएनौं । आफैँ बितेर जानुभयो । हामीले हटाएनौँ ।”
उनले थप स्पष्ट पार्दै भने, “झलनाथजीलाई हामीले उहिल्यै अवकाश दिएका थियौँ । सीपी मैनालीलाई ३९ सालमा अवकाश दिएका थियौँ । ३९ सालमा ३१ वर्ष जतिको हुनुहुन्थ्यो, त्यतिबेलै हटाएको हो । उमेर त बढ्दो नै थियो त्यतिबेर । उमेर सानै रहेछ भनेर राख्न मिल्ने रहेनछ, हटाउनुपर्दो रहेछ ।”
उनले पार्टीले भावनामा बगेर होइन, औचित्य आवश्यकता हेरेर निर्णय गर्नेसमेत बताएका थिए । उता एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ७० वर्षको उमेरहद र दुई कार्यकालको व्यवस्था कायम गर्नुपर्ने पक्षमा उभिएका छन् ।
ओली र पोखरेलको अभिव्यक्ति हेर्दा एमालेमा उमेर हद बहस चर्किने निश्चित छ । ७० वर्षे उमेरहदको व्यवस्था कायम राखिए एमालेका ओली, पोखरेलसहितका एमालेका पदाधिकारीको पंक्ति पार्टीबाट बाहिर हुनुपर्नेछ ।
पार्टीमा विद्या भण्डारीको आगमन चाहने पंक्तिले विधान महाधिवेशनमा यसलाई ऐजेन्डा बनाउने तयारीमा छ । विधान महाधिवेनले ६४ वर्षीय भण्डारीको आगमनलाई सुनिश्चित गराउने पक्षमा नेताहरू देखिन्छन् ।
“विधान महाधिवेशनले उहाँको यात्रा तय गर्ने हो । त्यसअघि उहाँले धेरै कुरा बोल्ने भन्ने छैन । ७० वर्षे उमेरहद कायम गरिनुपर्छ भन्ने एजेन्डामा चर्को बहस हुनेछ,” भण्डारी निकट एक नेताले भने ।
उनको पक्षमा खुलेर बोलिरहेका एमाले स्थायी कमिटी सदस्य कर्ण थापा ७० वर्षे उमेरहद कायम गर्ने निर्णय ओलीकै अगुवाइमा भएको भन्दै कायम रहने विश्वास व्यक्त गर्छन् ।
“उहाँ (ओली) को मान्यता हो । नेतृत्व बहिर्गमन, नयाँ नेतृत्वको आगमनका दुईवटा विधिबाटै समाधान खोजौँ । प्रतिष्पर्धाको विधि त छँदैछ । त्यसअघि भइरहेको नेतृत्व जीवनकाल हुनेभन्दा विधिले जाने र नयाँ प्रवेश गर्न पाउने भयो । सौहाद्र्र वातारणमा बन्ने भन्ने कम्युनिस्ट आन्दोलनको अनुभव हेरेर व्यवस्था गरिएको हो । त्यसको अगुवाइ अध्यक्षले गर्नुभएको हो । उहाँ त्यसबाट पछि हट्नुहोला भन्ने लाग्दैन,” उनी भन्छन् ।
ओलीको अभिव्यक्तिले ७० वर्षे उमेरहको निर्णय कायम हुने देखिँदैन नि भन्ने प्रश्नमा उनको जवाफ छ, “विधिको व्यवस्था मान्नुहुन्छ भन्ने सोचौं न । के भन्नुहुन्छ भन्ने कुरा होइन । विधानभन्दा माथि भाषण हुुँदैन । कसैले भाषण गर्दैमा संविधान बदलिँदैन, फरक मत रहन्छ । तर, संविधान, कानुन, विधान त सबैले मान्नुपर्यो नि !”
पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेरहद राखियो । उमेर कटेका हालका पदाधिकारीहरू बाहिरिए । विद्यार्थी संगठनमा चाहिँ नयाँ नेतृत्व चाहिने अनि पार्टीमा ल्याउन किन नहुने ? बहस छेडिएको छ ।
थापा भन्छन्, “अनेरास्ववियुमा ३२ को उमेर लगाउने अनि पार्टीमा भएको व्यवस्था हटाउने ? यो तर्कसंगत हुँदैन । नेपालमा विधि व्यवस्था कायम गर्नेमा नेपालका राजनीतिक पार्टी एमाले गुरु हो । ७० वर्षे राखेर अरु पार्टीको गुरु बन्नुपर्छ ।”
ओलीले नै विद्यालाई अघि सार्न सक्छन् ?
एमालेको एक पंक्ति ओली–विद्या एक–अर्काबीच शत्रुता साँध्लान् ? भन्नेमा पटक्कै विश्वास राख्दैन । ओली र भण्डारी पार्टी अध्यक्षका लागि भिड्दैनन् बरु सल्लाहमै अघि बढ्छन् भन्ने बुझाइ देखिन्छ । तिनीहरू ११औं महाधिवेशनमा ओलीले नै भण्डारीलाई अध्यक्षको रुपमा अघि बढाउने विश्वासमा छन् ।
“उहाँहरू शत्रुतापूर्ण ढंगले अघि बढ्नुहुन्छ भन्ने लाग्दैन । एउटा कित्तामा उभिनेभन्दा पनि दुवै पक्षलाई बीचमा ल्याउने कोसिस भयो भने भविष्य राम्रो हुन्छ । व्यक्तिको आकांक्षाभन्दा पनि पार्टी नभाँडियोस् । अध्यक्षले नै निकास दिनुहोस् भन्ने कुरामा हाम्रो पुस्ताको जोड रहन्छ,” एमालेका एक नेताले भने ।
एमाले पोलिट्ब्यूरो सदस्य विशाल भट्टराई दुवैको सल्लाहमा नै अघि बढ्ने विश्वास गर्छन् ।
“महाधिवेशनमा अध्यक्ष पदका लागि दुईजना भिड्ने अवस्था आउँदैन । जसले नेतृत्व गर्ने हो सल्लाहमा नै हुनेछ,” उनी भन्छन् ।
स्थायी कमिटी सदस्य थापा ओलीले निकास दिने र पार्टीको हित हेर्ने विश्वास राख्छन् । “अध्यक्षले निकास दिनुहुन्छ, अध्यक्षलाई पार्टीको हित केमा हुन्छ भन्ने थाहा छ । आन्दोलनको हित केमा हुन्छ भन्ने जानकार हुनुहुन्छ,” उनले भने ।
ओली र भण्डारीबीच द्वन्द्व नहुने बताउँछन् ।
“द्वन्द्व खोज्ने धेरै छन्, त्यो सम्भव छैन । जीवनका हरेक राजनीतिक मोडमा एक–अर्काको सहयोगी बन्नुभयो । सहयोगी हुनुहुन्छ र बन्नुहुन्छ,” उनी भन्छन्, राजनीतिक सम्बन्ध कायमै रहुनु हुन्छ । त्यही सन्देश दिनु नै उपयुक्त हुन्छ ।”