site stats
बाह्रखरी :: Baahrakhari
खेल
यमलको फिका प्रदर्शन र रोनाल्डोको आँसु : नेसन्स लिगले जोगाउला मार्टिनेजको जिम्मेवारी ?

काठमाडौं । पोर्चुगलका निम्ति तेस्रो अन्तर्राष्ट्रिय उपाधि उचाल्दा क्रिस्टियानो रोनाल्डोको आँखाभरी आँसु थियो । स्पेन त्यही टिम हो, जोबाट पोर्चुगलले यो उपाधि उछिनेको थियो ।

रोनाल्डो ८८औँ मिनेटमा परिवर्तन हुँदै मैदानबाट बाहिरिए । तर, त्यसबेलासम्म नै उनले आफ्नो कर्तव्य पूरा गरिसकेका थिए । 

पोर्चुगलका कप्तान रोनाल्डोले ६२औँ मिनेटमा ‘क्लोज रेन्ज फिनिस’ गर्दै टोलीलाई २–२ को बराबरीमा ल्याए । यो उनको अन्तर्राष्ट्रिय खेल करियरमा १३८औँ गोल हो । अन्तर्राष्ट्रिय गोलमा रोनाल्डोअघि कुनै पनि फुटबलर छैनन् ।

Argakhachi Cement Island Ad

यस प्रतियोगितामा भने रोनाल्डोको यो आठौँ गोल पनि हो । नेसन्स लिगको यो संस्करणमा रोनाल्डोअघि स्वीडेनका भिक्टर ग्याकेरेस मात्रै छन् । पछिल्लो अढाई वर्ष साउदी अरेबियन क्लब अल–नासरमा बिताएका ४० वर्षीय भेट्रान खेलाडीका निम्ति यो खराब लय पनि हैन ।

यता, स्पेनका निम्ति भने सन् २०२२ पछि जित्न नसकेको यो पहिलो प्रतियोगिता बनेको छ । कतारमा सम्पन्न फिफा विश्वकप– २०२२ मा निराशजनक प्रदर्शनर रहे पनि स्पेनले त्यसपछिका खेलेको दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा दुवैको उपाधि चुमेको थियो । स्पेनले २०२३ मा भएको नेसन्स लिग र त्यसको अर्को वर्ष भएको युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । 

यस संस्करणमा साविक विजेता समेत रहेको स्पेनले फ्रान्सविरुद्ध सेमिफाइनलमा ५–४ को रवाफिलो जित निकाल्दा टोलीले फाइनलमा पनि उही नतिजा दोहोर्‍याउने अनुमान थियो । तर, फाइनलमा रोनाल्डोको टोली पोर्चुगलअघि स्पेनिस टिमले घुँडा टेक्यो ।

फाइनलमा रोनाल्डोसँगै पोर्चुगलबाट रक्षक नुनो मेन्डेसबाट पनि बलियो साथ पायो । ‘कशोरावस्था’मै स्टार बनेका स्पेनी फरवार्ड लामिन यमललाई नियन्त्रणमा राख्दै अग्रपंक्तिमा गोल पनि गरे ।

जितपछि भावुक बनेका रोनाल्डोले भने, “पोर्चुगललाई उपाधि दिनु मेरो लागि सधैँ विशेष हुन्छ । मैले क्लबको निम्ति धेरै उपाधि जिते । तर पोर्चुगललाई उपाधि जिताउन पाउँदाको खुसीसामु ती केही होइनन् । यो मेरो दायित्व पनि हो । यो खुसीको आँसु हो ।”  

यमल प्रतिद्वन्दीमा रोनाल्डोको जित 
“यदि रोनाल्डो र कोहीबीच तुलना सुरु हुन्छ भने त्यसमा जे सुनिन्छ, त्यो वास्तविकता हुँदैन । सञ्चारमाध्यमहरू सधैँ यी कुरालाई माथि लैजान चाहन्छन् । यो सामान्य कुरा हो । तर, प्रतिद्वन्द्वी सधैँ एक टोलीविरुद्ध अर्को टोलीको हुन्छ,” यो भनाइ रोनाल्डोको हो । ४० वर्षीय रोनाल्डो र १७ वर्षीय यमलबीच तुलना सुरु भएपछि पोर्चुगलका कप्तान आफैँले भने ।

आइतबारको खेलमा यमलविरुद्ध रोनाल्डो धेरै कुरामा अब्बल बने । उनले स्पेनविरुद्ध मेन्डिसको क्रस ‘डिफ्लेक्ट’ हुँदै आएको बललाई जाली चुमाउँदै फुटबल करियरमा ९३८औँ गोल गरे ।

Ronaldo-1749490396.JPG
“यी र यस्तै कारणले रोनाल्डो अझै पनि फुटबल मैदानमै छन्,” इंग्ल्यान्डका पूर्वमिडफिल्डर आन्द्रेओस त्वनसेन्डले भने, “विपक्षी टोलीको १८ यार्ड बक्समा रोनाल्डो सिकारी बन्छन् । उनलाई बल कहाँ जाँदैछ भन्ने थाहा हुन्छ । र, आफूसम्म आइपुग्दा बलमा राम्रो सम्पर्क बनाउँछन् । उनले अहिले पनि दबाबपूर्ण खेलमा प्रभाव राख्न सक्ने खुवीलाई प्रमाणित गरेका छन् ।”

फुटबल पण्डित कारेन कार्नी रोनाल्डोबारे भन्छिन्, “फुटबलमा ३० वर्ष पुग्नासाथ सबैले कुनै पनि खेलाडीलाई बुढो भन्छन् । उ ४० वर्ष भयो । तर, अझै पनि उसले फुटबलमा प्रभाव देखाइरहेको छ ।”

उसले २२ पटक मात्रै बल छोए । तर, खेललाई एकपटकभन्दा धेरै लयमा फर्काए । जसमा यमलसँग एकपटक रोनाल्डोले बल जितेको समेत समावेश छ । 

सेमिफाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेका यमलले भने फाइनलमा आफ्नो स्वभाविक प्रदर्शन दिन सकेनन् । 

खेलभर यमलले चार प्रहार गरे । अधिकांश लामो । जसमा दुई प्रहार पोर्चुगलका गोलकिपरले बचाए । “आजको खेलबाट यमलले धेरै कुरा सिक्नेछन् । उ आज पूर्णरूपमा गुमनाम थियो,” स्पेनका फुटबल पत्रकार गुइलेम बालागुईले भने ।

रोबर्टो मार्टिनेजको पहिलो अन्तर्राष्ट्रिय सफलता : नेसन्स लिगले जागिर जोगायो ?
यो उपाधि पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजको अन्तर्राष्ट्रिय करियरको पहिलो ट्रफी हो । बेल्जियमको तथाकथित ‘गोल्डेन जेनेरेसन’को नेतृत्व गर्दा उनले कुनै पनि उपाधि जित्न सफल भएका थिएनन् ।

२०१३ मा विगन एथलेटिकसँग एफए कप जित्नु उनको पछिल्लो सफलता थियो । त्यसपछि उनले कुनै ट्रफी जितेका थिएनन् । 

फुटबल विश्लेषक बालागुई भन्छन्, “मार्टिनेजलाई बर्खास्त गरिने हल्ला पोर्चुगल फुटबल महासंघबाट आएको हो । हालै नियुक्त भएको नयाँ अध्यक्षले मार्टिनेजलाई आफैंले नियुक्त गरेका होइनन् ।”

“हामीले नयाँ अध्यक्षले जर्ज जिसस वा जोसे मोउरिन्होलाई चाँडै प्रशिक्षक बनाउने चाहना राखेका छन् भन्ने सुनेका थियौँ । तर उपाधि जितेपछि कसरी मार्टिनेजलाई हटाउने ?”

मार्टिनेजले सन् २०२३ को जनवरीमा पोर्चुगलको टिम सम्हालेका थिए, विश्वकपपछि । उनको करार अर्को वर्षको गर्मीयामसम्म छ, जसले २०२६ विश्वकपलाई समेट्छ ।

porch-(1)-1749490396.jpg
बालागुईले थपे, “उनी (मार्टिनेज)ले रोनाल्डोलाई फेरि नियमित गोलकर्ता बनाएका छन् । रोनाल्डोले उनको नेतृत्वमा कुनै पनि प्रशिक्षकभन्दा बढी गोलप्रति खेल औसत गरेका छन् । यसैले उनलाई हटाउने योजना अब प्रभावहीन भएको छ ।”

यद्यपि, नेसन्स लिग विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता होइन, यो युरोपेली राष्ट्रहरूले जित्न सक्ने तीन मुख्य ट्रफीमध्ये एक हो । 

कार्नी भन्छिन्, “बेल्जियम टिमबाट पोर्चुगल टिमसम्म आइपुग्दा प्रश्न उब्जिन्छ, के फरक छ ? तर मार्टिनेजसँग केही विशेष कुरा छ । खेलाडीहरू र विशेषगरी रोनाल्डोले सकारात्मक प्रतिक्रिया देखाएका छन् । अब उनलाई विश्वकपमा मूल्यांकन गरिनेछ । त्यसअघि नै उनी हटाइए भने त्यो अन्यायपूर्ण हुनेछ ।”

नुनो मेन्डेस : फाइनलमा चम्किएको नयाँ तारा
पोर्चुगलका डिफेन्डर नुनो मेन्डेसले युवा स्पेनिस प्रतिभा लामिन यमललाई उत्कृष्ट ढंगले नियन्त्रण गरे । उनले एक सुन्दर गोल गर्दै आफ्नो टोलीलाई बराबरीमा ल्याए । र, खेलको म्यान अफ द म्याच पनि घोषित भए ।

मेन्डेस, जोआओ नेभेस, भिटिन्हा र गोन्कालो रामोस– यी सबै खेलाडीले पेरिस सेन्ट जर्मन (पीएसजी)सँग च्याम्पियन्स लिग जितेर आठ दिनमै दोस्रोपटक एलियन्ज रंगशालामा उपाधि चुमे । जसमा सबैभन्दा अब्बल रहे मेन्डेस ।

कार्नी भन्छिन्, “उनलाई आक्रमणमा जाँदा रमाइलो लाग्छ, तर उनको मुख्य जिम्मेवारी भनेको रक्षा हो । उनी पूर्ण डिफेन्डर हुन् ।”

बालागुई थप्छन्, “उनी सानदार छन् । बालन डी’अरको शीर्ष १० मा पर्न योग्य प्रदर्शन । अहिले लामिन यमलले आफ्नो सशक्त प्रतिद्वन्द्वी भेटेका छन्, ती हुन् नुनो मेन्डेस ।”

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  २३:२३
प्रतिक्रिया दिनुहोस्