
काठमाडौं । सदन अवरुद्धबारे छलफल गर्न बसेको विपक्षी दलको बैठक सकिएको छ । बैठकपछि नेकपा (माओवादी केन्द्र)का नेताहरू नेपाली कांग्रेसका नेताहरूलाई भेट्न गएका छन् ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सन्देश लिएर शक्ति बस्नेतसहित नेताहरू कांग्रेस नेतालाई भेट्न गएको माओवादीका एक सांसदले जानकारी दिए ।
स्रोतका अनुसार, विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने अडानबाट पछि नहट्ने निष्कर्ष निकालेको छ ।
सत्तापक्ष समिति गठन गर्न नहुने अडानमा छ । शनिबारमात्रै प्रचण्डसँगको भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले छुट्टै समिति आवश्यक नपर्ने बताएका थिए ।
भिजिट भिसा प्रकरणमा सत्तापक्ष र विपक्षीको आआफ्नै अडानका कारण जेठ १५ गतेयता प्रतिनिधिसभाको बैठक चल्न सकेको छैन ।