site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भीम रावल भन्छन्– मलाई राजावादीले भेटेका छैनन्, आफ्नै अभियानमा व्यस्त छु
फाइल तस्बिर ।

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले राजावादीहरूले आफूलाई नभेटेको बताएका छन् । बाह्रखरीसँगको कुराकानीमा नेता रावलले पछिल्लो समय आफ्नो राजावादीसँग कुनै प्रकारको सम्पर्क नरहेको बताएका हुन् ।

“म आफ्नै अभियानमा व्यस्त छु । केही दिनअघि मात्र म अभियानबाट काठमाडौं फर्किएको छु,” रावलले भने, “मसँग राजावादीको भेट त के टेलिफोनसम्म पनि भएको छैन ।”

Argakhachi Cement Island Ad

राजावादी आन्दोलनमा नवराज सुवेदीको नेतृत्व सफल हुन नसकेको निष्कर्षसहित राजनीतिक दलबाहेक ४१ समूहले प्रश्न उठाएका छन् । यही जेठ २१ गते भएको समीक्षा बैठक नै भाँडिएपछि राजावादी आन्दोलनका संयोजक सुवेदीले विज्ञप्तिमार्फत आन्दोलनको स्वरूप परिवर्तन भएको घोषणा गर्दै स्थानीय तहसहित जिल्लाजिल्लामा आन्दोलन गर्ने बताएका थिए । त्यसमा राजेन्द्र लिङदेनले मनसुनका कारण अहिलेको चरणका आन्दोलन सकिएको आशय व्यक्त गरेका थिए ।

तर, राजनीतिक दलबाहेक आन्दोलनमा सहभागी समूहहरूले आन्दोलनलाई अझ सशक्त बनाएर लैजानुपर्ने बताएका छन् । उनीहरूले नेकपा (एमाले)बाट निकालिएका नेता रावल, कांग्रेस नेता शंकर भण्डारी, नेपाली कांग्रेस बीपीका नेता कर्णबहादुर मल्लसहितसँग कुरा भइरहेको भन्दै सुवेदीलाई संयोजकबाट हटाएर नयाँ ढंगले अघि बढ्ने बताएका थिए ।

तर, उनीहरूको रावलसँग भेटवार्ता नभएको खुलेको छ । उनले आफू मातृभूमि जागरण अभियानलाई देशभर पुर्‍याएर पार्टीका रूपमा स्थापित गर्ने अभियानमा व्यस्त रहेको बताए ।

उनले राजावादी आन्दोलनमा आफ्नो सद्भाव रहे/नरहेको खुलाउन चाहेनन् ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्