
अमित पोखरेल
आखिर पूरै हस्तिनापुर अपनाउँदा के पायौ ?
छाती चौडा गरेर दुई छाकसँगको सिँघौरी ?
अर्धचेत भई कमरामा एक्लै
मुढो ढलेझैँ, बालकचेतको तमासा
अवरमा परेको मन सुस्ताउन
मात्र एक रातको निधौरी ?
मानौँ, प्रश्न यिनै हुन्
पहिले पनि
अहिले पनि !
जिजीविषा तेर्स्याएर दिउँसै अन्धकार पार्न खोज्ने तिमी नै हैनौ ?
सम्मोहनको मादमा तृष्णाले ताण्डव नाच्दै गर्दा
झुटका नारा घन्काएर मोहको मृगतृष्णा
हुँकार गरी फैलिएको गरिबी
त्यही गरिबको कनपट्टीमा कुलिनताको बन्दुक राखी
हेपाहा अर्थोपार्जनको गोली पड्काउने
नवक्रान्तिकारी कि अत्याचारी, तिमी नै हैनौ ?
अपनाउन त तिमीसँग रसास्वादका पूरा सहरहरू छन्
कंकाल मानसिकताबाट उम्रेका नयाँ उन्मादी रहरहरू छन्
ढल्दै गरेको प्रताडित यौवनका तामसिक प्रहरहरू छन्
अनि बेलाबखत
आक्कलझुक्कल चेत खुल्दाका लागि
मानसपटल चर्काउने पश्चात्तापी कहरहरू छन् ।
तर, अझै पनि प्रश्न उही नै छन्–
आखिर पूरै अमरापुरी डढाउँदा के पायौ ?
त्यही छाती चौडा गरेर
मुन्टो लुकाउँदै दुई छाकसँगको मितौरी ?
या मुढो ढलेझैँ
अर्धचेत भई कमरामा एक्लै
अनायास आइलाग्ने मृत्युचेतनासँगको पौँठेजोरी ?