site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
म सडकको प्रतिविम्ब

विखण्डित प्रवाह
(कथासंग्रह : नवराज रिजाल)

कथाकार तथा साहित्यिक पत्रकार नवराज रिजालको केही समयअघि प्रकाशित कथाकृति हो, ‘विखण्डित प्रवाह’ । उनका यसअघि अरू पनि कथाकृति सार्वजनिक भइसकेको छ । उनले नियात्रा, गजल, मुक्तक, समालोचना, बालसाहित्य गरेर दर्जनभन्दा बढी पुस्तक पाठकसामु पस्किइसकेका छन् ।

लेखकीयमा कथाकार रिजालले लेखेका छन्, “...मेरो प्रेरणाको मूल स्रोत अरू कोही नभएर मन नै हो । हो, उसैको निर्देशमा मैले लेख्ने जमर्को गरिरहेको हुँ । ... ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साहित्यकार गोपाल अश्कले भूमिकामा लेखेका छन्, “२०३९ सालदेखि आख्यानसाहित्यमा निरन्तर क्रियाशील र गतिशील रहँदै आएका रिजालको पहिचान एक सशक्त सामाजिक यथार्थवादी कथाकारका रूपमा रहेको छ । ... ।”

यो कृतिभित्र रिजालका १८ कथा पढ्न सकिन्छ ।

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित १६६ पृष्ठको यो कथाकृतिको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।

०००

म सडकको प्रतिविम्ब
(कवितासंग्रह : प्रदीपरत्न शाक्य)

कवि प्रदीपरत्न शाक्यको कविताकृति हो, ‘म सडकको प्रतिविम्ब’ । ३० को  दशकदेखि नै कविता लेखनमा सक्रिय शाक्यको एउटा कविताकृति नेपाल भाषामा पनि प्रकाशन भइसकेको छ ।

पुस्तकभित्र आफ्नो मन्तव्यमा शाक्यले लेखेका छन्, “अनेकौँ अथक प्रयासपछि म सडकको प्रतिविम्ब कवितासंग्रह हजुरहरूसामु पस्कन सफल भएको छु । ... ।”

अग्रज कवि तुलसी दिवसले शुभकामना मन्तव्यमा भनेका छन्, “कविता लेखेरमात्र होइन, त्यसको सस्वर वाचनबाट पनि मानिसहरूसम्म पुग्न नितान्त आवश्यक ठान्छु म । शब्दको अन्तर्यलाई स्वरले जीवन्त बनाउँछ । शब्दले प्राप्त गर्ने यो अभिव्यक्तिगत मूर्तता नै कविताको सामथ्र्य र शक्ति हो । ... ।”

पुस्तकभित्र विभिन्न भावका ७६ कविता समेटिएको छ ।

अभिवन साहित्य समाजद्वारा प्रकाशित २१६ पृष्ठको यो कृतिको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।

०००

अभ्यागत
(मुक्तकसंग्रह : शान्ता देवकोटा)

कवि शान्ता देवकोटाको मुक्तककृति हो, ‘अभ्यागत’ । केही समयअघि यो काव्यकृति बजारमा ल्याइएको हो । यो उनको दोस्रो मुक्तकसंग्रह हो ।

कृतिभित्र मुक्तककार देवकोटाले लेखेकी छन्, “मुक्तकको आफ्नै नियम र स्वरूप हुने, अनुप्रासयुक्त काव्य विधाअन्तर्गत पर्ने हुँदा चारपंक्तीय छोटो कविता जसमा पहिलो र दोस्रो पंक्तिको पुच्छारतिर अनुप्रास राख्नुपर्ने, तेस्रो पंक्ति स्वतन्त्र, चौथो पंक्तिमा समानुप्रासको नियम मान्नुपर्ने हुन्छ । सोहीअनुसारका मुक्तकहरू यस संग्रहमा संगृहीत छन् । ... ।”

भूमिकामा कवि उषा शेरचनले लेखेकी छन्, “महिलालाई लेख्नका लागि अझैसम्म पनि महिलामैत्री समाज नभएको र पढ्नलेख्न सहज नभएको अवस्थामा पनि मन भए जस्तोसुकै परिस्थितिमा आफूलाई उभ्याउन सक्छ र पढ्नलेख्नलाई उमेरले, समयले छेक्दैन भन्ने प्रमाण हो, यो ‘अभ्यागत’ मुक्तकसंग्रह । ... ।”

देवकोटाको यो कृतिमा २२५ मुक्तक प्रस्तुत छ ।

अनुसन्धान विमर्श नेपालद्वारा प्रकाशित १२० पृष्ठको यो पुस्तकको मूल्य २५१/– रुपैयाँ राखिएको छ ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्