
नेपालमा नौ दशक उमेर पार गरेका व्यक्तिहरू कति होलान् ? तीमध्ये कतिको मानसिक र शारीरिक स्वास्थ्य ठिक होला ! र, कतिले पुराना घटना, सामाजिक व्यवस्था, आर्थिक अवस्था सम्झेर अहिलेको समाजलाई पुराना दिनमा पुर्याउन सक्लान् ?
९२ वर्षकी पवित्रा खत्रीलाई उनका सन्तानले प्रश्न नगरेको भए सायद दोलखा, काठमाडौं, सिरहा, रामेछापदेखि जुम्लासम्मका पुराना घटनालाई अक्षरहरूको माध्यमबाट हाम्रा दृश्यपटलमा चलचित्रसमान पढ्न पाइन्न थियो होला ।
‘नसोधिएका कथाहरू’ पवित्रा खत्रीको आत्मकथा हो । कान्छो छोरा डा. श्याम केसीको सहलेखनमा पवित्रा आमाको आत्मकथा लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल)ले प्रकाशन गरेको हो भने पुस्तककी सम्पादक हुन्, रेनुका ।
कथा सहज छ, दोलखामा वि.सं. १९९० सालमा जन्मिएकी पवित्रा खत्रीको प्रहरीमा कार्यरत दोलखाली युवा डोलबहादुर खत्रीसँग मागी विवाह हुन्छ । कान्छी श्रीमतीका रूपमा घर प्रवेश गरे पनि जेठीसँग सहज सम्बन्ध राख्दै चार छोरा र एक छोरीलाई संसार टेकाउन उनले गरेका संघर्षका कथाहरूले त्यस बेलाको नेपालको परिवेश कस्तो थियो भन्ने देखाउँछ ।
श्रीमान् २००७ सालको प्रजातान्त्रिक आन्दोलनको योद्धाका रूपमा प्रहरीमा प्रवेश गर्छन् र विभिन्न पदमा हुँदै मुलुकका अनेक स्थानमा स्थानान्तरण भइराख्छन् ।
तर, २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको हरण गरेपश्चात् उनलाई जागिर जोगाउन निकै हम्मेहम्मे पर्छ । बल्लबल्ल अनेक तवरले जागिर त जोगिन्छ, तर सरुवा हुन्छ जुम्लामा ।
त्यस बेलाको जुम्ला, जहाँ काठमाडौंबाट पुग्नै एक महिना लाग्थ्यो । विकट पहाडमा पनि उनले श्रीमती र सन्तानलाई सँगै लिएर जान्छन् ।
त्यस बेलाको जुम्लाअन्तर्गत अहिलेको जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालीकोटलगायत जिल्लाहरू पर्दथे ।
श्रीमान् जुम्लामा हुँदा ससाना लालाबाला लिएर पवित्रा जान्छिन् दोलखाबाट जुम्ला । यो भ्रमणले नेपालको त्यस बेलाको यातायातको अवस्था कस्तो थियो भन्ने पनि देखाउँछ ।
उनको पुस्तकले आ–आफ्नो नाताबीचको आत्मीयता, प्रेम, सद्भाव सबैथोक देखाउँछ । एउटा ठूलो परिवार कसरी मिलेर बस्थ्यो, एकार्काको आवश्यकता कसरी पूरा गर्थ्यो, कसरी आपसी सहयोगमा संकटहरू टारिन्थ्यो, ती सबैको शब्दचित्र हो यो किताब ।
यो पुस्तकमा कतै स्पष्ट ढंगले महिलाको अवस्थाका विषयमा केही टिप्पणी गरिएको छैन । तर, एक महिलाको वैवाहिक, सामाजिक, आर्थिक अवस्थाको अत्यन्त सटीक चित्रण गरिएको छ ।
सानो हुँदा बाबुको, त्यसपछि श्रीमान्को आडभरोसा र पछि छोराहरूको सहारामा जिउनुपर्ने जीवनको कथा हो, ‘नसोधिएका कथाहरू’ ।
पवित्रा खत्रीका चार छोरा र एक छोरी तथा थुप्रै नातिनातिना भए तापनि अहिलेको नेपाली समाजमा भएको समस्या उनले व्यहोरेकी छन् । जीवनको उत्तराद्र्धमा उनका श्रीमान् यस धरामा छैनन् भने सन्तान सबै अमेरिका र अस्ट्रेलियामा फैलिएका छन् ।
त्यसैले नसोधिएका प्रश्नहरू सोधिएर नयाँ पुस्तालाई ठूलो ज्ञान र अनुभवको पोको छोडिदिएर आफ्नो बाँकी जीवनमा सहजताको कामना यो पुस्तकले गरेको छ ।