
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारीसाधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेसन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेसन स्थापना गरेको हो ।
बिहीबार आयोजित एक विशेष कार्यक्रमबीच बैंकका सञ्चालक कृष्णप्रसाद शर्मा, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रूपमा उक्त चार्जिङ स्टेसनको उद्घाटन गरे । गाडी चार्ज प्रा.लिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सीसीटू सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ ।
उक्त चार्जिङ स्टेसनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरूलाई आफ्नो ईभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लोसमय विद्युतीय सवारीसाधनको प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकहरूको सवारीसाधनलाई लक्षित गरी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।
उक्त कार्यक्रममा बैंकका सञ्चालक शर्माले बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी वातावरण अनुकूल ईभी सवारीसाधनको प्रर्वर्द्धनको एक पहलको रूपमा यस चार्जिङ स्टेसनको स्थापना गरेको जानकारी दिए । साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसँगै वातावरणमैत्री उपायहरू अवलम्बन गरिरहेको समेत उल्लेख गरे ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताए । आफ्नो १८औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरणमैत्री प्रोडक्टहरू ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताए । उनले ग्लोबल आइएमई बैंकले सञ्चालन गरेको ईभी चार्जिङ स्टेसन अन्य बैंक तथा वित्तीय संस्थाहरूले समेत अबलक्बन गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्ज प्रा.लि.को प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।