site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सांसदकाे व्यङ्ग्य : विधेयक पारित गर्दासम्म गृहमन्त्रीलाई कसैले हटाउन पाउँदैन

काठमाडौं । नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रमेश लेखकमाथि व्यङ्ग्य गरेका छन् । नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले विधेयक पारित गर्दासम्म गृहमन्त्रीलाई कसैले हटाउन नसक्ने भन्दै कटाक्ष गरेका हुन् । 

“एउटा आँटका साथ यो विधेयक हामीमाझ प्रस्तुत गरिसक्नुभएको छ । यसलाई पूर्णतासहित कार्यान्वयन तहमा लैजाने बेलासम्म हाम्रा माननीय गृहमन्त्री रमेश लेखकलाई कसैले हटाउन पाउँदैन,” उनले भने ।

समितिमा हाँसो फैलियो । उनले थपे, “उहाँ नै गृहमन्त्री भएर यो विधेयक पास... ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यतिकैमा समिति सभापति रामहरि खतिवडाले सोेधे, ‘‘माननीयज्यू, विधेयक अलिक ढिलो लैजाने सुर गर्नुभएको छ कि के हो तपाईंले ?’’

हाँस्दै श्रेष्ठले भने, ‘‘औपचारिक रूपमा ७० वर्षपछि प्रहरीसम्बन्धी विधेयकलाई संशोधन गर्ने कामलाई अघि बढाइएकामा गृहमन्त्रीलाई धन्यवाद...।’’ 

उनले निजामती विधेयकमा जस्तो लर्को लागेर देउसी भैलो खेल्ने काम नहोस् भन्ने सुझावसमेत दिए । 

विधेयकमाथिको छलफलका क्रममा एमाले सांसद राजेन्द्रकुमार राईले ‘पर्सनल सेक्युरिटी अफिसर’ (पीएसओ) दिइँदा बेथिति गरिएको भन्दै आपत्ति जनाए । दौरा सुरुवाल लगाउनेलाई पीएसओ दिइएको भन्दै कटाक्ष समेत गरे । 

“पीएसओ भनेको के हो ? मैले चिनिनँ । सबैले लिएर कुदेको कुद्यै । जसले दौरा सुरुवाल लगायो त्यसलाई पीएसओ ! किन त्यस्तो हुन्छ ? हिजो आईजीपी, एआईजी भएकाहरूको घरमा पनि राखिँदैछ । यसो गर्नुहुँदैन । यो लोकतन्त्रको खिलापमा छ ।”

उनले गृहमन्त्रीमाथि धेरै कुरा उठेको भन्दै पीएसओको व्यवस्थालाई सच्याउन ध्यानाकर्षण गराए । “सुशासन राम्रो ढंगले दिऔँ न गृहमन्त्रीज्यू । तपाईंका बारेमा धेरै कुरा उठ्यो । यो चाहिँ करेक्सन गदिर्नुन गृहमन्त्रीज्यू,” उनले भने, “यो गरेर जानुभयो भने फेरि मान्छेले हाईहाई भन्ने वातावरण बन्न सक्छ ।”

सांसदहरूले प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनुपर्नेमा जोड दिएका छन् । 

गृहमन्त्री लेखकले प्रहरी विधेयक असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेस गर्ने वातावरण बनाइदिन आग्रह गरे । 

“समितिमा आजबाट नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ गरेका छौँ । ७० वर्षपछि प्रहरी कानुन बनाउँदै छौँ । यो मेरो र गृह मन्त्रालयको प्राथमिकताको विषय हो,” उनले भने ।

उनले विधेयकमाथि छलफलका लागि आफूले पर्याप्त समय दिने समेत बताए ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्