
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुनेगरी यथार्थपरक बजेट ल्याएको बताएका छन् ।
स्रोत व्यवस्थापनको सीमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन गर्नेगरी यथार्थपरक बजेट ल्याएको उनको दाबी छ ।
बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गरेको उनको भनाइ छ ।
बजेट वक्तव्यपछि संक्षिप्त प्रतिकृया दिँदै अर्थमन्त्री पौडेलले भने, “विगतका कमजोरीलाई दोहोरिन नदिने र अर्थतन्त्रका चुनौतीहरू सामना गर्नेगरी बजेट प्रस्तुत भएको छ ।”
अर्थमन्त्री पौडेलका अनुसार बजेटले लगानी, उत्पादन, उत्पादकत्व, उद्यमशिलता र रोजगारी वृद्धिमा जोड दिएको छ । विनियोजन कुशलतातर्फ अभिमुख भएको बताएका उनले सीमित स्रोतलाई अत्यधिक प्रतिफलयुक्त कार्यक्रम र आयोजनामा विनियोजन गरिएको दाबी गरेका छन् ।
“बजेटले उत्पादनका सबै क्षेत्रको मनोबल बढाउनेछ । निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्नेछ । स्टार्टअफ, युवा, उद्यमीहरुलाई प्रोत्साहित गर्नेछ,” उनले प्रेस नोटमा भनेका छन् ।