
काठमाडौं । सरकारले २३९ मेगावाट क्षमताका १४ जलविद्युत् आयोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) खाकामा बनाउने भएको छ । आयोजना बनाउन विद्युत् विकास विभागले लगानीकर्ताहरूसँग आशयपत्र (ईओआई) मागेको छ ।
नेपालमा दर्ता भएका जलविद्युत् कम्पनीले संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर)मा प्रस्तावित आयोजना बनाउन आशयपत्र पेस गर्नसक्ने विभागले जानकारी दिएको छ ।
१४ साना आयोजना आफैँ निर्माण तथा सञ्चालन (बुट) मोडेलमा अघि बढाउन लागेको हो ।
विभागले अघि बढाउन लागेको आयोजनामा ५३.८५ मेगावाटको अपर चमेलिया, ३३.३ मेगावाटको कबाडीखोला, २७.९ मेगावाटको मिडिल इन्खुवाखोला, १५.५ मेगावाटको जुगडा बुढीगंगा र १५.२५ मेगावाटको जावाखोला आयोजना रहेका छन् ।
१५.२ मेगावाटको म्याग्दीखोला, १२.५० को मैवा खोला, १०.८५ को बुढीगंगा, ८.६ मेगावाटको रुपागाड, ६ मेगावाटको लङगरी खोला, ४.१ मेगावाटको भेरीखोला, ४ मेगावाटको न्याउरीगाड र २.२ मेगावाटको डोटीगाड जलविद्युत् आयोजना पीपीपी खाकाम अघि बढाउन लागेको विभागले जनाएको छ ।
आयोजनामा प्रस्ताव पेस गर्ने समय जुन ३० सम्मको समय दिएको छ ।
पछिल्लो समय विभागले बास्केटमा रहेका आयोजनहरू प्रतिस्पर्धामार्फत बनाउन निजी क्षेत्रलाई दिने नीति लिएको छ ।