site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
धितोपत्र बजारमा नियामकीय व्यवस्थासँगै नियमन र सुपरिवेक्षणलाई तीव्रता दिइएको छ : अध्यक्ष श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले धितोपत्र बजारलाई विभिन्न नियामकीय व्यवस्थासहित नियमन र सुपरिवेक्षणलाई तीव्रता दिएको बताएका छन् । शुक्रबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा ‘पुँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रमा वित्तीय क्षेत्रमा हुने क्रियाकलापले महत्त्वपूर्ण भूमिका खेल्ने हुनाले वित्तीय बजारमा नियमन र सुपरिवेक्षणमा राज्यले विशेष महत्त्व दिने बताए । “धितोपत्र बजार सम्बन्धमा पनि विभिन्न नियामकीय व्यवस्थाहरू गरिएका छन् । बजार सहभागीहरूलाई नियमन र सुपरिवेक्षणको साथसाथै क्षमता अभिवृद्धि गर्न यस प्रकारका कार्यक्रमहरू पनि निरन्तर सञ्चालन भइराख्नु पर्दछ,” उनले भने ।

Argakhachi Cement Island Ad

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले प्रविधि, सुशासन र अनुपालन हाल पुँजी बजारको सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले सोलाई ध्यानमा राखी कार्यक्रम आयोजना गरिएको बताए । “यस कार्यक्रमबाट सम्पूर्ण कारोबार सदस्यहरू लाभान्वित हुने अपेक्षा मैले गरेको छु,” उनले भने, “यसबाट लगानीकर्तालाई सहज, सुरक्षित र विश्वसनीय कारोबार सेवा प्रदान गर्न मद्दत मिल्नेछ ।”

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जमा पछिल्लो समयमा देखिएका सकारात्मक परिवर्तनको चर्चा गरे । उनले पुँजीबजार सुदृढीकरणका लागि सम्बद्ध सबै निकायले एउटै धारणा लिएर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपालले धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रण सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका छन् ।

कार्यक्रममा नेप्सेका ९२ कारोबार सदस्य (ब्रोकर र डिलर)का प्रमुख कार्यकारी अधिकृत र सूचना प्रविधि सम्बद्ध कर्मचारीको सहभागिता थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्