
काठमाडौं । सरकारले विदेशमा नेपालीलाई लगानीका निम्ति बाटो खोल्ने भएको छ । बिहीबार (जेठ १५) उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै व्यवसायी/लगानीकर्तालाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने बताए । विदेशमा लगानी गर्न अनुमति भने नेपाल लगानी बोर्डले दिने उनले बताए ।
“व्यवसायी/लगानीकर्तालाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइनेछ । विदेशमा लगानी गर्न अनुमति भने नेपाल लगानी बोर्डले दिनेछ,” उनले भने ।
सरकारले औद्योगिक क्षेत्रको भाडा ५० प्रतिशतले घटाउने बजेटमार्फत घोषणा गरेको छ । खानीजन्य वस्तुको उत्खननदेखि निकासीसम्मको व्यवस्था मिलाइनेछ ।
बजेटमा स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम राखिएको छ । त्यसका निम्ति ७३ करोड रुपैयाँ बजेट छुट्टाइएको छ ।
कर्जा तथा निक्षेप सुरक्षणमार्फत सहकारीका पाँच लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिनेछ । न्युज एजेन्सी नेपाल