site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भोलिको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल, अनुगमन पनि गर्ने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार (जेठ १५ गते)को प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ । आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालना गर्न आग्रह गरेको छ ।

"एकअर्काप्रति अमर्यादित टीकाटिप्पणी नगर्न र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपिल गर्दछ । साथै, प्रदर्शनको क्रममा सुरक्षा संवेदनशीलतामा आउन सक्ने जोखिमहरूको आकलन गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्य मान्यतालाई ध्यान दिन आयोग नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गर्दछ," आयोगले भनेको छ ।

Argakhachi Cement Island Ad

आयोगले आजै प्रदर्शनको सन्दर्भमा अपनाइने सुरक्षा सतर्कताबारे काठमाडौं र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग छलफल पनि गरेको छ ।

छलफलमा प्रमुख जिल्ला अधिकारीहरूले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको, शान्ति सुरक्षालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गरिएको, दुई पक्षबीच झडपको स्थिति आउन नदिन दुवै समूह एक आपसमा जम्काभेट नहुने गरी प्रबन्ध मिलाइएको बताएको आयोगले जनाएको छ ।

"सञ्चारगृहलगायत संवेदनशील स्थलको सुरक्षामा ध्यान दिइएको र सडकमा सहज आवागमनमा अवरोध हुन नदिन तथा सर्वसाधारणको सुरक्षालाई मध्येनजर गर्दै सुरक्षा रणनीति तयार पारिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी प्रमुखहरूले बताउनुभएको छ," आयोगले भनेको छ ।

आयोगका अध्यक्ष तपबहादुर मगरले शान्तिसुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

आयोगले विभिन्न टोली बनाएर भोलि हुने प्रदर्शनको मानव अधिकारको कोणबाट अनुगमन गर्नेछ ।

भोलि राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन गर्दै छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्