site stats
बाह्रखरी :: Baahrakhari
कला
किम्फ आज सुरु हुँदै, ३० देशका ६५ चलचित्र प्रदर्शन हुने

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २२औँ संस्करण आजबाट सुरु हुँदै छ । आजबाट सुरु हुने किम्फ आइतबार (जेठ १८) गतेसम्म चल्नेछ । 

महोत्सव ठमेलस्थित क्यूएफएक्स छाया सेन्टर, एस्ट्रेक पार्क र जीएए हलमा आयोजना हुनेछ । ‘खण्डित आवाज, जोडिदैँ कथाहरू’ नारा रहेको किम्फमा ३० देशका ६५ भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् ।

“यसपटकको चलचित्र र कार्यक्रमहरूमार्फत नेपाली दर्शकलाई मनोरञ्जनका साथै नेपाली समाजलाई असर पार्ने विषयहरूमा संवाद सुरु होस् भन्ने हाम्रो उद्देश्य छ,” किम्फ फाउन्डेसनको अध्यक्ष रम्यता लिम्बू भन्छिन् ।

Argakhachi Cement Island Ad

नेपालमै पहिलोपटक प्रदर्शन हुन लागेको ‘बिट्विन द माउन्टेन एण्ड द स्काइ’ नामक डकुमेन्ट्रीको प्रदर्शनीसँगै किम्फ सुरु हुनेछ । जेरेमी पावर रेगिम्बलद्वारा निर्देशित यो डकुमेन्ट्री फिल्मले सीएनएन हिरो जितेकी समाजसेवी म्यागी डोएनको व्यक्तिगत जीवनलाई नजिकबाट भन्नेछ । 

नेपाल–चीन मित्रताको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा किम्फले सिजांग प्यानोरमामा चलचित्रहरू प्रदर्शन गर्दै छ, जसले नेपाल र चीनको भाषिक र सांस्कृतिक भिन्नता भए पनि दुई देशबीचको समानता झल्काउनेछ ।

यसपालिको संस्करणमा निर्णायकमण्डलमा चलचित्र र टेलिश्रृंखला निर्देशकहरू नवीन सुब्बा (नेपाल), मार्टिन हेसेनोह्रल (अस्ट्रिया), यिंकी चेन (चीन) सँगसँगै पत्रकारिता र संचार प्राध्यापक छुन झान र चलचित्र प्रोग्रामर जिना ली (दक्षिण कोरिया) हुन् ।

अन्तर्राष्ट्रिय श्रेणीमा उत्कृष्ट वृत्तचित्रको लागि १५०० अमेरिकी डलर, उत्कृष्ट छोटो वृत्तचित्रका लागि १००० अमेरिकी डलर, उत्कृष्ट आख्यानको लागि १५०० अमेरिकी डलर, उत्कृष्ट छोटो आख्यानको लागि १००० अमेरिकी डलर, उत्कृष्ट माउन्टेन र एडभेन्टर्सका लागि १००० अमेरिकी डलर तथा उत्कृष्ट इसिमोड पर्वतीय चलचित्रलाई १००० अमेरिकी डलरले पुरस्कृत गरिनेछ ।

नेपाली चलचित्र मध्ये उत्कृष्ट वृत्तचित्र, उत्कृष्ट आख्यान र दर्शकहरूले सर्वाधिक रुचाएको चलचित्रलाई सबैलाई एक लाख रुपैयाँ पुरस्कार दिइनेछ । यो वर्ष केयू उदयमान चलचित्रकर्मीलाई पनि एक हजार अमेरिकी डलर दिइनेछ ।

यसै संस्करणमा किम्फले पहिलोपल्ट काठमाडौं डक ल्याब कार्यशाला पनि सुरु गर्ने भएको छ । 

टिकटको मूल्य १५० र विद्यार्थीको लागि १०० रुपैयाँ रहनेछ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०६:५४
प्रतिक्रिया दिनुहोस्