
काठमाडौं । यो वर्षको मनसुन यसै साताको अन्त्यसम्म नेपाल प्रवेशको सम्भावना बढेको छ । मंगलबार (जेठ १३) भारतको असमका केही तथा भुटान र बंगलादेशको पूर्वी भूभागसम्म मनसुनको आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“नेपालको पूर्वी भूभागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो । तर, यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिन्छ,” महाशाखाले मंगलबार साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।
भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम मोडेलको तथ्यांक विश्लेषणका आधारमा मनसुन यसै साताको अन्त्यसम्म नेपालको पूर्वी भूभागबाट प्रवेश हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।
“यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ,” महाशाखाले भनेको छ ।