
काठमाडौं । नेकपा (एमाले)का सांसद रघुवीर महासेठले हवाई टिकटको मूल्य महँगो भएकाले घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार (असार ८) प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् ।
नेपालीले भारतको दिल्ली जान ६० देखि ८० हजार रुपैयाँ ‘इकोनोमिक क्लास’का निम्ति तिर्नुपर्ने दुःखद भएको उनले उल्लेख गरे । उनले यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा गम्भीर हुनुपर्ने बताए ।
“हाम्रो एयरलाइन्स धेरै कम हामी इन्डिया रुटमा प्रवेश गर्छौं । एउटा सामान्य नेपालीले दिल्ली जानलाई ६० हजार रुपैयाँ, ८० हजार रुपैयाँ एक इकोनोमिक क्लासमा तिर्नु भनेको त यो दुःखद कुरा हो,” उनले भने, “यसलाई कसरी हामी नियन्त्रण गर्दछौँ ?”
उनले अगाडि भने, “अर्को कुरा, ४० हजारमा एक साइडको टिकट लिनुस्, ३० हजारमा एक साइडको टिकट लिनुपर्छ । अब कुन सिट रोज्ने ? अगाडिको सिटलाई पाँच हजार रुपैयाँ छुट्टै तिर्नुपर्छ । यस्तो अरू देशमा त देख्दैनौँ ।”
समितिको बैठकमा आइतबार नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गरिएको छ । न्युज एजेन्सी नेपाल