site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल सुरु गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा आइतबार (असार ८) उक्त विधेयकमाथि छलफल थालिएको हो ।

सैद्धान्तिक छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसद्‌मा यो विधेयकप्रति व्यापक चासो देखिएको बताए । “संसद्को प्राथमिकतामा रहेको यो विधेयकमा ७५ जना सांसदहरूले सक्रियताका साथ भाग लिनुभएको छ,” उनले भने, “सरकारको तर्फबाट यो विधेयक कुनै संस्था टुक्र्याउने उद्देश्यले होइन, व्यवस्थित पार्ने दृष्टिकोणबाट आएको हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विधेयकमा आठ प्रमुख सूचक समावेश छन् । कर्मचारीको असन्तुष्टिपछि ट्रेड युनियनसँग छलफल गरी विधेयकमा आवश्यक संशोधनमार्फत अघि बढ्ने सहमति पनि भइसकेको उनले जानकारी दिए ।

छलफलका क्रममा विज्ञ र संशोधनकर्ताको धारणा समेटिने उनले विश्वास व्यक्त गरे । हवाई नीति र छाता ऐन अन्तिम चरणमा रहेको भन्दै उनले ती विषय पनि छिट्टै अगाडि बढाइने बताए ।

हवाई दुर्घटनापछि पाउने बिमासम्बन्धी व्यवस्थामा स्वदेशी र विदेशी नागरिकबीच देखिएको भिन्नतालाई हटाएर एकरूपता ल्याउने कार्य पनि अघि बढाइने मन्त्री पाण्डेले जानकारी दिए ।

विधेयकमा परेका संशोधन प्रस्तावबारे अब सहमतिमै विस्तृत छलफल गरिने समितिले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्