site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
८८ वर्षीय शर्माको चित्रकला प्रदर्शनीमा (तस्बिरहरू)

काठमाडौं । अग्रज चित्रकार हरिप्रसाद शर्माका तैल र पानी रङबाट निर्मित चित्रहरूको विशेष प्रदर्शनी ‘समयक्रममा नेपाल : चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ नेपाल आर्ट काउन्सिल, बबरमहलमा जारी छ । 

८८ वर्षीय शर्माको यो पाँचौँ एकल प्रदर्शनी हो । उमेरजन्य कारणले गर्दा चित्रकार शर्मा कुनै कुनै बेला मात्र प्रदर्शनी स्थलमा आउने गर्छन् ।

गत जेठ ९ गतेदेखि सुरु भएको उक्त प्रदर्शनीमा चित्रकार शर्माका ६० वटा चित्र प्रदर्शित छन् । जसले नेपालको इतिहास, संस्कृति र जनजीवनलाई समेटेको छ । 

Argakhachi Cement Island Ad

शर्माको चित्रकला प्रदर्शनीमा २०३६/३७ देखि २०८२ सालसम्म बनाएका चित्रकलाहरू समेटिएको उनका सुपुत्र प्राध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए । 

चित्रकार शर्माका चित्रहरूमा दर्शकले उपत्यकाको समृद्ध नेवारी लोकसंस्कृति, जनजीवन, तत्कालीन नेवारी परिवेश र प्रचलनलाई अनुभव गर्न पाउँछन् । उनका चित्रहरू यथार्थवादी त लाग्छन् नै, त्यसमा ऐतिहासिकता पनि प्रष्टसँग समेटिएको भेटिन्छ । 

art-exb-(10)-1748338519.jpg
शर्माका छोरा प्रा. विष्णुले बाह्रखरीसँग कुरा गर्दै भने, “उहाँले चित्रकला बनाउँदा इतिहासको अध्ययन, इतिहासकारहरूसँग छलफल गरेर विषयलाई प्रमाणीकरण गरिसकेपछि मात्रै क्यानभासमा उतार्दै आउनु भएको छ । यस्ता ऐतिहासिक चित्रहरू क्यानभासमा उतार्दा ऐतिहासिक स्थलमा नै पुगेर, उक्त स्थानको अवलोकन गरेर र तत्सम्बन्धी तस्बिरहरूको सहयोग लिँदै आउनु भएको छ ।” 

विभिन्न संस्कृति र जनजीवनका कतिपय चित्रकला चित्रकार शर्माले आफ्नो बाल्यकालीन स्मृतिमा आधारित भएर कोरेका छन् । ७०/७५ वर्षअघि देखेका, भोगेका प्रसंग, दृश्य र घटनाहरूलाई उनले आफ्नो कलामा जीवन्त रूपमा उतारेको शर्माका चित्रहरू अवलोकन गर्दा अनुभूत हुन्छ । 

नेपालभित्रै पाँचवटा चित्रकला प्रदर्शनी गरिसकेका शर्माको विदेशमा भने चित्रकला प्रदर्शनी आयोजना नभएको विष्णु शर्मा बताउँछन् । तर, चित्रकार शर्माका विभिन्न चित्रहरू समेटिएर एउटा पुस्तक प्रकाशित भएको छ ‘नेपाल डाउन द एजेज’ (युगौँदेखिको नेपाल : नेपाली इतिहास, संस्कृति र जीवनका झलकहरू) । यसभित्र प्रस्तुत इतिहास, संस्कृति र जनजीवन सम्बद्ध चित्रहरूको अंग्रेजी, नेपाली र नेपाल भाषामा व्याख्या गरिएको छ । 

यो पुस्तक नेपाल आएका विदेशी पाहुनाहरूको रुचिमा परेको र विदेशबाट आउने विशेष अतिथिहरूलाई समेत यो पुस्तक उपहारका रूपमा प्रदान गरिँदै आएको प्रा. शर्माले बताए ।

art-exb-(11)-1748338519.jpg
अग्रज चित्रकार शर्माको यस प्रदर्शनीमा उनको चित्रकलाका विविध विषयलाई लिएर तयार पारिएको वृत्तचित्र पनि प्रदर्शनीस्थलमा प्रस्तुत गरिँदै आएको छ ।

जेठ १७ गते शनिबारसम्म प्रदर्शन हुने ‘समयक्रममा नेपाल : चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’लाई नेपाल सम्पदा संघले आयोजन गरेको हो । प्रदर्शनीमा छानिएका चित्रहरूको पोस्टर पनि बिक्री हुँदै आएको प्रा. शर्माले बताएका छन् । शर्मा यो उमेरमा पनि उत्तिकै सक्रियताका साथ चित्रकला बनाइरहेका छन् ।  

art-exb-(8)-1748338518.jpg

art-exb-(6)-1748338517.jpg

art-exb-(7)-1748338517.jpg

art-exb-(4)-1748338516.jpg

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्