site stats
बाह्रखरी :: Baahrakhari
देश
१० दिन कैद सजाय तोकिएका युवकको कारागार पुगेको दोस्रो दिनमै मृत्यु

काठमाडौं । बैंकिङ कसुर मुद्दामा १० दिन कैद सजाय तोकिएका एक कैदीको मृत्यु भएको छ । कैलालीमा कारागार चलान भएको दोस्रो दिनमै २८ वर्षीय व्यवसायी हरिशसिंह पालीको असार २ गते राति मृत्यु भएको हो ।

बैंकिङ कसुर मुद्दामा उनलाई कैलाली कारागारमा असार १ गते चलान गरिएको थियो । डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का हरिश जेठ २९ गते डडेल्धुराको अमरगढी नगरपालिका–५, स्थित तुफानडाँडाबाट पक्राउ परेका थिए ।

उनलाई फैसला कार्यान्वयनका लागि कैलाली कारागार चलान गरिएको थियो । जेठ ३१ गते शनिबार परेकाले प्रहरीले उनलाई असार १ गतेमात्रै अदालत पेस गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अदालतको आदेशले तोकिएको सजाय भुक्तानीका लागि सोहीदिन कैलाली कारागार चलान गरेको थियो । तर, कारागार चलान भएको दोस्रो दिनमै उनको मृत्यु भएको हो ।

कारागारभित्र बिरामी परेका हरिशलाई सोमबार राति साढे ११ बजेतिर उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई राति सवा १२ बजे मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले कारागारभित्र बिरामी परेर अस्पलाल ल्याउँदा मृत्यु भएको बताए ।

‘‘कारागारभित्र बिरामी परेका कैदीलाई अस्पताल ल्याउँदा मृत्यु भएको हो । के कारणले मृत्यु भयो भन्नेबारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ,’’ उनले भने ।

पीडितको परिवारले हरिशको मृत्यु शंकास्पद रहेको बताएको छ । उनीहरू छानबिनको माग गर्दै प्रदर्शन गरेका छन् ।

कैलाली जिल्ला अदालतले ०८० फागुन २९ गते बैंकिङ कसुर मुद्दामा उनलाई १० दिन कैद र दुई लाख जरिवानाको फैसला सुनाएको थियो । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमै कार्यरत प्रहरी नायब निरीक्षक हरिजित नाथले उजुरी दिएका थिए ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्