
दाङ । दाङका विभिन्न वन क्षेत्रमा सात वयस्क बाघ फेला परेका छन् । डिभिजन वन कार्यालय घोराहीको संयोजकत्वमा मध्य तराई भू–परिधि क्षेत्रमा पर्ने जिल्लाका वन इलाकामा बाघ अनुगमननिम्ति क्यामेरा राखिएका थिए ।
एक भाले, दुई पोथी र चार लिंग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिए । ती तस्बिर विभिन्न २३ स्थानमा जडान गरिएका क्यामेरामा कैद गरिएका हुन् ।
सर्वेक्षण कार्य वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालयको मार्गदर्शनमा गत वर्ष मंसिर २४ देखि माघ ४ गतेसम्म सञ्चालन गरिएको थियो ।
४० दिनसम्म दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएका १०९ ग्रीडमा क्यामेरा जडान गरी ४३६ वर्गकिलोमिटर वन क्षेत्रको निगरानी गरिएको अधिकृत सुवेदीले जानकारी दिए । उक्त अध्ययनमा दाङका चार स्थानीय तह – घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दंगीशरण गाउँपालिकाभित्रका वन क्षेत्रलाई समेटिएको थियो ।
सर्वेक्षणमा डिभिजन वन कार्यालयका आठ कर्मचारी, आठ स्थानीय नागरिक र १६ अनुसन्धानकर्ता सम्मिलित आठ टोली बनाइएको थियो । हाल संकलित तथ्यांकको विश्लेषण कार्य जारी छ । विस्तृत प्रतिवेदन केही समयपछि सार्वजनिक गरिने जनाइएको छ ।
दाङ, अर्घाखाँची र कपिलवस्तु जिल्लाका चार डिभिजन वन कार्यालयको समन्वयमा सम्पन्न उक्त अध्ययनमा हालसम्म जम्मा १० वयस्क बाघ अभिलेख गरिएको छ ।
प्रारम्भिक अध्ययनानुसार, ती बाघ बाँके राष्ट्रिय निकुञ्ज वा भारतको सुहेलवा वन्यजन्तु संरक्षण क्षेत्रबाट कम्दी जैविक मार्ग हुँदै ओहोरदोहार गर्ने गरेको अनुमान छ ।
डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले दाङमा पहिलोपटक बाघको गणना गरिएको जानकारी दिए । वन्यजन्तु संरक्षणमा मानव जातिले सकारात्मक सहयोग गर्नुपर्ने उनले बताए । रासस