
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेट दुवै टोलीको टुंगो लागेको छ । मंगलबार टुसाल युवा क्लब रेलिगेट हुने निश्चित भएसँगै घटुवामा पर्ने दुवै टोलीको टुंगो लागेको हो ।
लिगअन्तर्गत मंगलबार बिहान सम्पन्न उक्त खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) र वीरगञ्ज युनाइटेडको खेल एक–एकको बराबरी खेलेका थिए । यो नतिजाले टुसाललाई रेलिगेसनमा पारेको हो ।
लिगमा टुसाल एक खेलअगावै रेलिगेट भएको हो । टुसालले १२औँ चरणसम्म आइपुग्दा ११ अंक मात्र बनाउन सकेको छ । उसले १२ खेलमा दुई जित, पाँच बराबरी र चार हारबाट ११ अंक बनाएको हो । अब टुसालले शीर्ष डिभिजन लिगमा बढुवा भइसकेको प्लानिङ ब्वाइजसँग अन्तिम खेल खेल्नेछ । यस खेलमा टुसाल विजयी बने पनि रेलिगेसन टार्ने छैन ।
अर्काे टोली नयाँबस्ती युथ क्लब भने ११औँ चरणमा रेलिगेट भएको थियो । नयाँबस्तीले १२औँ चरणसम्म आइपुग्दा पाँच अंक मात्र बनाएको हो । नयाँबस्तीले १२ खेलमा एक जित, दुई बराबरी र आठ हारबाट पाँच अंक बनाएको छ ।
आरसीटीले भने यो नतिजासँगै ‘बी’ डिभिजन लिगको हैसियत जोगाएको छ । आरसीटीले बराबरीबाट एक अंक जोड्दै तालिकामा १५ अंक जोडेको छ । आरसीटीले १२ खेलमा तेस्रो बराबरी खेल्दै चार जित, तीन बराबरी र पाँच जितबाट १५ अंक जोडेको हो । अब टोलीले लिगको अन्तिम खेल श्री कुमारी क्लबसँग खेल्नेछ । यो खेलमा टोली पराजित भए पनि घटुवामा पर्ने छैन ।