
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबार (जेठ ६)देखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ ।
७२ होलको चारदिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले उपाधिका निम्ति प्रतिस्पर्धा गर्नेछन् । ३६ होलको समाप्तिमा कट लागु हुनेछ । जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले बाँकी ३६ होलका निम्ति स्थान बनाउनेछन् ।
प्रतियोगितालाई थप रोमाञ्चक बनाउन कोर्सलाई पनि सोहीअनुसार कठिन बनाइएको छ । नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी, यो सिजन उत्कृष्ट फर्ममा रहेका निरज तामाङ, साविक विजेता रवि खड्का, दिनेश प्रजापति र भारतीय गल्फ टुर खेलिरहेका शुक्रबहादुर राईजस्ता खेलाडीबीच उपाधिका निम्ति प्रतिस्पर्धा हुने सम्भावना छ ।
योपटक नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले व्यक्तिगत कारण सहभागिता नजनाउने भएका छन् ।
प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख रुपैयाँ छ । विजेताले एक लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशः ७० हजार र ५० हजार हात पार्नेछन् । शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
चार दिनको मुख्य स्पर्धापश्चात् शनिबार प्रो–एम प्रतिस्पर्धा हुने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले जनाएको छ । एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले भने, “अघिल्ला प्रतियोगिताहरूजस्तै यसपटक पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने र उत्कृष्ट स्कोर गर्ने अपेक्षा लिएको छु । खेलको विकासका लागि निरन्तर सहयोग पुर्याएको प्रायोजक सूर्य नेपाल प्रालिप्रति हामी आभारी छौँ ।”