site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नाकाबन्दी अन्त्य गर्दै इजरायलले गाजामा सीमित खाद्यान्न आपूर्ति गर्न दिने

काठमाडौं । इजरायलले गाजामा सीमित र आधारभूत मात्रामा खाद्यान्न आयात गर्न अनुमति दिने घोषणा गर्दै दश हप्ताको नाकाबन्दी अन्त्य गर्न लागेको छ । 

प्यालेस्टिनको गाजाका २१ लाख जनतामा भोकमरीमा पर्ने जोखिमबारे सहायता संस्थाहरूले चेतावनी दिएका थिए । यहाँ कुपोषणबाट पीडित दुब्लाएका बच्चाहरूको दृश्य र विवरणहरू सार्वजनिक भएका छन् ।

फ्रान्सेली विदेशमन्त्री ज्यान–नोएल ब्यारोटले गाजामा तत्काल र बिना रोकतोक सहयोग पुनः सुरु गर्न इजरायललाई आग्रह गरेका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा इजरायलले भोकमरीको अवस्था अन्त्य गर्न गाजाको जनताका लागि आधारभूत मात्रामा खाद्यान्न आयात गर्न दिने भनिएको छ । यसले इजरायलको नयाँ सैन्य अभियान ‘अपरेसन गिडियन्स च्यारियट’लाई जोखिममा पार्नसक्ने बताइएको छ ।

विज्ञप्तिमा इजरायलले हमासले मानवीय सहयोगको वितरण नियन्त्रण गर्न नसकोस् भन्ने पनि सुनिश्चित गर्ने बताइएको छ ।

यता, आइतबार बिहान इजरायली सेनाले उत्तरी गाजाको एक अस्पताललगायतमा आक्रमण गरेको थियो । इजरायलले गाजामा बन्दी बनाइएका बन्धकहरू मुक्त गर्ने र हमासलाई पराजित गर्ने लक्ष्य राखेको बताएको छ ।

उद्धारकर्मीहरूका अनुसार दक्षिणी सहर खान युनिस र उत्तरी गाजाका बस्तीहरू र बेइत लाहिया र जबालिया शरणार्थी शिविरमा पनि आक्रमण भएको छ ।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा गाजामा कम्तीमा ६७ जनाको मृत्यु भएको छ । ३६१ जना घाइते भएका छन् । बीबीसी
 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०६:४०
प्रतिक्रिया दिनुहोस्