
काठमाडौं । रुसले युक्रेनी सैनिकविरुद्ध रासायनिक हतियारको प्रयोग तीव्र बनाएको डच र जर्मन गुप्तचर एजेन्सीले जनाएका छन् । रासायनिक हतियारको प्रयोग अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन मानिन्छ ।
रुसी सेनाले घाँटीमा असर गर्ने क्लोरोपिक्रिन प्रयोग गरिरहेको आफूसँग प्रशस्त प्रमाण रहेको ती एजेन्सीले शुक्रबार जनाएका अलजजिराले उल्लेख गरेको छ ।
रुसले निषेधित हतियार प्रयोग गरेको अस्वीकार गर्दै आएको छ । युक्रेनले पनि यस्तै आरोप अस्वीकार गरेको छ ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले देशको संघीय सुरक्षा सेवाले बुधबार पूर्वी भागमा युक्रेनी हतियारको भण्डार फेला पारेको जिकिर गरिन् । त्यसमा क्लोरोपिक्रिन समावेश रहेको उनले बताइन् ।
“यो सामान्य र व्यापक भएको छ । क्लोरोपिक्रिन ड्रोनबाट खसालिन्छ, ताकि सैनिकहरूलाई खाल्डोबाट बाहिर निकालेर त्यसपछि उनीहरूलाई मार्न सकियोस्,” डच रक्षामन्त्री रुबेन ब्रेकेलमन्सले एक्समा गरेको एक पोस्टमा उल्लेख छ ।
रुसविरुद्ध कडा प्रतिबन्धको माग गरिरहेका ब्रेकेलमन्सले रासायनिक हतियारको प्रयोगलाई ‘भयानक र अस्वीकार्य’ भनेका छन् ।
डच सैन्य गुप्तचर र सुरक्षा सेवाका प्रमुख पिटर रिसिंकले यो आफ्नै अनुसन्धानमा आधारित निष्कर्ष भएको बताए । रुसले रासायनिक हतियार हजारौँपटक प्रयोग गरेको उनको भनाइ छ ।
“यो केवल अग्रपंक्तिमा केही अस्थायी प्रयोग मात्र नभएर यो वास्तवमा ठूलोस्तरको कार्यक्रमको हिस्सा हो । र, यो निश्चित रूपमा चिन्ताजनक छ । किनभने, रुसले के गरिरहेको छ भनेर सार्वजनिक गरेनौँ भने यो प्रवृत्ति जारी रहने सम्भावना धेरै छ,” रिसिंकले थपे ।
जर्मनीको गुप्तचर एजेन्सीले पनि उक्त निष्कर्षलाई पुष्टि गर्दै रुसी सेनाले युक्रेनमा अश्रुग्यासका साथै धेरै खतरनाक रासायनिक क्लोरोपिक्रिन प्रयोग गरिरहेको जनाएको छ । “यो रासायनिक हतियार सन्धिको गम्भीर उल्लंघन हो, जसले यो केमिकलको प्रयोगलाई सबै परिस्थितिमा निषेध गर्छ,” विज्ञप्तिमा भनिएको छ ।