
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता लागेको छ । ८२ वर्षीय बाइडेनलाई गत हप्ता मूत्र सम्बन्धी लक्षणहरूका लागि डाक्टरले जाँच गरेपछि शुक्रबार क्यान्सर भएको पत्ता लागेको बीबीसीले जनएको छ ।
यो क्यान्सरलाई आक्रामक प्रकारको क्यान्सर मानिन्छ । जसको ग्लिसन स्कोर १० मध्ये ९ छ । क्यान्सर रिसर्च यूकेका अनुसार यसको अर्थ उनको रोग हाई–ग्रेडको श्रेणीमा पर्छ र क्यान्सर कोषहरू छिटो फैलन सक्छन् ।
बाइडेन र उनका परिवारले उपचारका विभिन्न विकल्पहरूमा विचार गरिरहेको समाचारमा बताइएको छ । पूर्वराष्ट्रपतिको कार्यालयले यो क्यान्सर हर्मोन–सेन्सिटिभ भएको बताएको छ । यसको अर्थ यो नियन्त्रण गर्न सकिने सम्भावना छ भन्ने हो ।
यो खबर प्रकाशित भएपछि दुवै राजनीतिक दलका नेताहरूले पूर्वराष्ट्रपतिलाई सान्त्वना दिएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको खबरले आफू दुःखी भएको बताएका छन् । उनले भनेका छन्, “हामी उनको परिवारप्रति आफ्नो न्यानो माया र शुभकामना पठाउँछौँ । हामी जोको छिटो र सफल स्वास्थ्य लाभको कामना गर्छौं ।”
बाइडेनको उपराष्ट्रपति रहेकी कमला ह्यारिसले सामाजिक संजाल एक्समा पोष्ट गर्दै उनी र उनका पति डग एमहफ बाइडेन परिवारको साथ रहेको बताएकी छिन् ।
ह्यारिसले भनिन्, “जो एक योद्धा हुन् र मलाई थाहा छ कि उनले आफ्नो जीवन र नेतृत्वमा देखाएको त्यही बल, सहनशीलता र आशासँग यो चुनौतीलाई सामना गर्नेछन् ।”
बाइडेनलाई क्यान्सर भएको खबर पूर्वराष्ट्रपतिले आफ्नो स्वास्थ्य र उमेरको चिन्ताका कारण सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनबाट आफ्नो उमेदवारी फिर्ता लिन बाध्य भएको लगभग एक वर्ष पछि आएको हो । उनी अमेरिकी इतिहासमा सबैभन्दा अधिक उमेरमा राष्ट्रपति बनेका व्यक्ति हुन् ।
अमेरिकाको क्लिभल्यान्ड क्लिनिकका अनुसार छालाको क्यान्सरपछि प्रोस्टेट क्यान्सर पुरुषहरूलाई असर गर्ने दोस्रो प्रकारको क्यान्सर हो । अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी)ले प्रत्येक १०० पुरुषमध्ये १३ जनालाई जीवनको कुनै न कुनै चरणमा प्रोस्टेट क्यान्सर हुने सम्भावना रहेको बताएको छ । बीबीसी