
काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले दुई पार्टी मिलेर बनेको सरकार सरकारजसरी चल्न नसकेको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद गौतमले सांसदको हैसियतले त्यस्तो अनुभूति गरेको बताए ।
“अहिले जुन सरकारमा छौँ । कांग्रेस र एमाले मिलेर सरकार बनाइएको छ । सरकार सरकारजसरी चलेको अनुभूति गर्न सकेको छैन,” उनले भने ।
उनले संसद्मा जुन किसिमको भाइब्रेसन हुनुपर्ने हो त्यो हुन नसकेको पनि बताए । “संसद् जसरी चल्नुपर्ने हो, जसरी जनताका समस्या रिफ्लेक्ट भएर भाइब्रेसन हुनुपर्ने हो, त्यो हुन सकेको छैन,” उनले भने ।
उनले न्यायपालिकमा पनि जनताको भरोसा नभएको जस्तो देखिएको बताए । “जनता निराश छन् । जनतामा आशा र भरोसा पैदा गर्न सकेका छैनौँ । एक किसिमको सोच र सम्भावाना क्रियट गर्न सकेका छैनौँ,” गौतमले भने ।
उनले शीर्ष नेताहरूले राष्ट्रिय सहमति गर्ने बेला आइसकेको समेत बताए । “अब बेर भइसक्यो, एकपटक शीर्षस्थ नेताले टाउको जोड्नुस् । अब मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न सक्यौँ, संविधान संशोधन गर्न सक्यौँ,” उनी भन्छन्, “जनतामा आशा र भरोसा पैदा गर्न सक्यौंँ र मुलुकलाई निश्चित दुरीसँग हिँड्न सके मुलुकलाई एक ठाउँमा पुर्याउला ।”