site stats
बाह्रखरी :: Baahrakhari
देश
हावाहुरीको वितण्डा : कहाँ के क्षति भयो ?

काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानमा शुक्रबार साँझ हावाहुरी चलेको थियो । हावाहुरीका कारण विभिन्न ठाउँमा क्षति पुगेको छ ।

तीव्र गतिमा चलेको हावाहुरीले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुईजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–७, चारपाला बस्ने ३० वर्षीया मीरा बयम्बु र सोही ठाउँका ४० वर्षीया दुर्गाबहादुर पुन छन् ।

सुनवल नगरपालिका वडा–७, ज्यामिरेस्थित प्रतीक्षालयमा बसिरहेका उनीहरूलाई रूख ढलेर च्यापेको लुम्बिनी प्रदेश प्रहरीका प्रवक्रा प्रहरी वरिष्ठ उपरीक्षक जर्नादन जीसीले जानकारी दिए ।

घटनामा सोही वडाका ४० वर्षीया नरमती परियार, ५१ वर्षीया दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते भएका छन् । उनीहरूको अवस्था गम्भीर छ ।

त्यस्तै, कपिलवस्तुमा रुखले च्यापिएर एक बालिकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–८, मैनिहवा बस्ने गयप्रसाद केवटकी छोरी १४ की शुकना केवटको मृत्यु भएको छ ।  

घर नजिकै बगैँचामा गएको समयमा हावाहुरी आएर आँपको रुख ढल्दा उनको मृत्यु भएको हो । रुखले घाँटीमा च्यापी घाइते भई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तुमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

रुपन्देहीमा घरमा छाएको टिनले लाग्दा दुईजना घाइते भएका छन् । रुपन्देहीको मर्चवारी गाउँपालिका–६, ठर्की बस्ने जितन कुर्मीको हावाहुरीको कारणले आफ्नै घरको टिनको जस्तापाता उडाएर लाग्दा शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । कुर्मीसहित उनकी श्रीमती ४५ वर्षीया पुष्पा कुर्मीलाई पनि चोट लागेको छ ।

यता, वर्षासँगै आएको हावाहुरीका कारण उदयपुरका विभिन्न स्थानमा दर्जनौँ घर तथा विद्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, शुक्रबार वर्षासँगै हावाहुरी आउँदा जिल्लाका विभिन्न क्षेत्रमा विद्यालय तथा घरमा क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले जिल्लाको चौदण्डीगढी नगरपालिका–१०, खैराहा झोडामा हावाहुरीका कारण स्थानीय हर्क श्रेष्ठको घर, ध्रुव खत्री, सम्भव अधिकारीको घरको छानो उडाएको जानकारी दिए ।

उदयपुरगढी गाउँपालिका–६ को जगेटारस्थित माध्यमिक विद्यालयको सबै छानो हावाहुरीले उडाएको छ । त्रियुगा नगरपालिका क्षेत्रसहित चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा हावाहुरीले दर्जनौँ घर तथा भौतिक संरचनामा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  २२:०४
प्रतिक्रिया दिनुहोस्