site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगरले खुलायो एआईदेखि पुरोहितसम्मको निःशुल्क तालिम

काठमाडौं । काठमाडौं महानगरपालिकाले एआईदेखि पुरोहितसम्मको निःशुल्क तालिम लिनका लागि आवेदन आह्वान गरेको छ । 

जेठ ७ गतेदेखि काठमाडौंको टुँडिखेलमा सञ्चालन हुने सीप मेलामा १० क्षेत्रका ३४ सेवासँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इन्जिनियर शैलेन्द्र झाले जानकारी दिए । 

महानगरले यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखेको छ । सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गरिने समितिले जनाएको छ । 

महानगरपालिकाले काठमाडौंभित्र स्थायी वा अस्थायी रूपमा बसोवास गर्ने, ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडकपेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरूलाई लक्षित गरेर तालिम आयोजना गरेको हो । 

उक्त तालिममा १८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई सहभागी गराइने महानगरपालिकाले जनाएको छ । 

तालिमका क्षेत्र र विधा

आयोगका सहायक विज्ञ विवेक बास्तोलाका अनुसार आइसीटी क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अप्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआई) र यसको प्रयोग (एआई एन्ड इट्स एप्लिकेसन) गरी ५ विधाका तालिम हुनेछन् । 

स्पेसल एबिलिटी सपोर्ट स्किल (साउन सिन्ड्रोम, अटिजम) मा हाउस किपिङ (पीडब्लुडी) र केयर सर्भिस गरी दुईवटा विधाका तालिम चल्नेछन् । 

इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एन्ड रेफ्रिजेरेटर, सीसीटीभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी चार विधाका तालिम हुनेछन् । 

गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुई विधामा तालिम हुनेछन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच विधामा तालिम हुनेछ ।

हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी चार विधामा तालिम हुनेछ । अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल (ईभी) मेन्टेनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी तीन विधामा तालिम सञ्चालन हुनेछ । 

आर्ट एन्ड स्कप्चरमा थांका, सेरामिक्स (टेराकोटा) गरी दुई विधामा तालिम हुनेछ । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ । 

कुषिमा फूलको सजावट (फ्लावर डेकोरेसन)सम्बन्धी तालिम हुनेछ । सेवातर्फ सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (बार्बर) र स्टक मार्केटसम्बन्धी तालिम हुनेछ ।   

तालिममा सहभागी हुन चाहनेले सीपमेलाको वेबसाइटमा क्लिक गरेर खुल्ने पेजमा गएर मागिएका विवरण भरेर पेस गर्नु पर्नेछ । 

तालिमका लागि जेठ ५ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । यससम्बन्धी थप जानकारी लिन परे महानगरको टोल फ्री नम्बर ११८० मा सम्पर्क गर्न सकिने महानगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  २३:०८
प्रतिक्रिया दिनुहोस्