site stats
बाह्रखरी :: Baahrakhari
देश
भत्काएर फेरि बनाइँदै गरेको ‘फ्लाइओभर’ को काम कति भयो ?

काठमाडौं । २०८० फागुन ११ गतेसम्म सम्पन्न हुनुपर्ने  ‘ग्वार्को फ्लाइओभर’ को काम अहिलेसम्म पनि सकिएको छैन ।  पटक–पटक म्याद थप गर्दा पनि निर्माण कम्पनी आशीष–समानान्तर–जेभीले तोकिएको समयमा काम सम्पन्न गर्न नसकेको हो । 

०७८ फागुन १२ गते सरकार आफैँले ईपीसी (इञ्जिनियरिङ प्रोक्युअमन्ट् एन्ड कन्सट्रक्सन) मा सम्झौता गरी ‘फ्लाईओभर’ निर्माण अघि बढाएको थियो । 

सम्झौता अनुसार दुई वर्षमा अर्थात् ०८० फागुन ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो ।  तर विभिन्न कारण देखाउँदै समयमै काम सम्पन्न गर्न सकेन । 

fly7-1747368071.JPG
 

त्यसपछि सरकारले ०८१ पुस ८ गतेसम्म म्याद थप गरिदियो । निर्माण कार्य अन्तिम चरणमा पुगेकै बेला कंक्रिटको एउटा प्यानलमा ‘ज्वाइन्ट ग्याप’ बढेको देखियो । त्यसपछि सातदोबाटोतर्फको सो प्यानल भत्काएर पुनः निर्माण गर्नुपर्ने अवस्था आयो । 

सरकारले समयमै गुणस्तर चेकजाँचमा ध्यान नदिँदा ‘ग्वार्को फ्लाइओभर’ को निर्माणको म्याद वैशाख मसान्तसम्म लम्बिएको थियो । सो समयमा पनि सकियो । तर, फ्लाइओभर सञ्चालनमा आउन सकेन । 

पूर्वाधारविद् आशीष गजुरेलका अनुसार ईपीसी मोडलको योजनामा लागत र समय बढाउन मिल्दैन । 

fly8-1747368071.JPG
 

“रिङरोडबाट जाने सवारी साधनहरु ट्राफिक जाममा रोकिनु नपर्ने कन्सेप्टले यो फ्लाइओभर बनाउन खोजिएको देखिन्छ । तर, म्याद थपेको थप्यै गर्ने काम कहिल्यै नसकिने अवस्था भयो । खासमा यसको म्याद समय थप गर्न मिल्दैन,” गजुरेलले बाह्रखरीसित भने । 

गजुरेलका अनुसार समयमै बन्ने अवस्था आएको बेलामा गुणस्तर भएन भनेर भत्काइनु पनि राम्रो होइन ।  समयमै बनेको भए यतिधेरै चर्चा र विरोध नहुने पनि उनले बताए । 

“बालकुमारी पुलबाट ग्वार्कोे चोकसम्म बीचको चार लेन सडक बन्द हुँदा अत्यधिक सवारी जाम हुने गरेको छ । समयमै बनेको भए यतिधेरै चर्चा र विरोध हुँदैनथ्यो,” गजुरेलले भने । 

fly1-1747368070.JPG
 

“डिजाइन भएन भनेर पुनः डिजाइन गर्न लगाउनु, गुणस्तर भएन भनेर बनिसकेको वाल भत्काउने काम भयो । सरकारले समयमै गुणस्तर चेकजाँच गर्नुपर्‍यो,” गजुरेलले भने, “निर्माण व्यवसायी सिरियस भएको पनि देखिएन । सरकार र निर्माण व्यवसायी पार्टनर जसरी काम गर्नुपर्छ  । यसमा खासै समन्वय गरेको देखिएन ।”

fly4-1747368070.JPG
 

सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार, सबै काम सम्पन्न हुन अझै करिब एक महिनाको समय लाग्नेछ । केन्द्रका सूचना अधिकारी प्रदीप भण्डारीले आगामी जेठ मसान्तसम्ममा फ्लाइओभरको सबै काम सकिने बताए । 

“अझै केही समय लाग्नेछ । जेठ मसान्तसम्ममा सबै काम सकाएर वर्षायामअघि सञ्चालनमा ल्याउँछौँ,” भण्डारीले भने ।  प्यानल इन्टरलकिङ भएका कारण सातदोबाटोतर्फ ४० मिटर बिग्रिएको आरई वाल पूरै भत्काउनुपरेको थियो । 

fly5-1747368070.JPG
 

केन्द्रले अनुगमनका क्रममा फ्लाइओभर निर्माणको जिम्मा पाएको आशीष–समानान्तर–जेभीले गुणस्तरहीन काम गरेको भन्दै पर्खाल भत्काउन लगाएको थियो । 

“बीचमा ग्याप रहेको पर्खाल भत्काएर पुनः निर्माण गर्नुपर्ने अवस्था आएको थियो । अहिले सो पर्खाल पुननिर्माणको काम सकिसकेको छ । फ्लाइओभर कालोपत्रे गर्ने तयारी भइरहेको छ,” भण्डारीले भने । 
विशेष अवस्था आएकाले म्याद थप गर्नुपरेको भण्डारीले बताए । 

“म्याद थप गर्नुपर्ने विशेष अवस्था सृजना भयो । त्यसैले केही समय लागेको हो । काम गर्दै जाँदा सुधार्नुपर्ने अवस्था आएको हो । हाम्रो लक्ष्य भनेकै वर्षायामअघि फ्लाइओभर सञ्चालनमा ल्याउने हो,” उनले भने ।  उनका अनुसार अन्तिम चरणको काम भइरहेको छ ।

fly6-1747368070.JPG
 

सम्झौता अनुसार तोकिएको समयमा निर्माण सम्पन्न नगरेपछि कम्पनीलाई थप भार थपिदै गएको छ ।  केन्द्रका अनुसार म्याद सकिएको पुस ८ गतेदेखि नै कुल बजेटको ०.०५ प्रतिशत हर्जाना जोडिँदै आएको  छ । 

“पुस ८ गतेदेखि नै कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको छ । अब काम सम्पन्न गरेपछि कम्पनीले एकमुष्ट हर्जाना बुझाउनुपर्छ । आवश्यकता अनुसार साँझ बिहानमा पनि काम भइरहेको छ,” भण्डारीले भने । 

‘फ्लाईओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि धेरै सडक र पुल बनाइसकेकाले आधारमा नेपाली व्यवसायीलाई नै जिम्मेवारी दिइएको थियो । 

अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भइरहेको ‘फ्लाइओभर’ को उचाइ ६ मिटर हुनेछ । 

बालकुमारीतर्फ २८० मिटर लामो ‘र्‍याम’ हुने र सातादोबाटो तर्फ झर्न १७५ मिटर लम्बाइको ‘र्‍याम’ हुनेछ । ‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने ‘फ्लाइओभर’ को आवतजावत संरचना जम्मा लम्बाइ ४९० मिटर हुनेछ । 
बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि ‘फ्लाइओभर’ पुगिनेछ । 

fly2-1747368070.JPG
 

सम्झौताअनुसार, कम्पनीले निर्माण गर्नुपर्ने काम ३० मिटर लम्बाइ स्पानको चार लेन प्रि–कास्ट ग्रिडर पुल निर्माण गर्नुपर्ने, एमएसई वाल भएको ५०० मिटर सडक कालोपत्रे अप्रोच सडक निर्माण गर्नुपर्नेछ । 

त्यस्तै, सडकमा कालोपत्रे १२ सेन्टिमिटर अलकत्र हुनुपर्ने, १५ सेन्टिमिटर डीबीएम, ३० सेन्टिमिटर बेस, ३० सेन्टिमिटर सबबेस हुनुपर्ने ट्राफिक लाइट जडान गर्नुपर्नेछ । 

‘फ्लाईओभर’ सञ्चालनमा आएपछि मंगलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारीसाधन पुल मुनिबाट जानेछन् । त्यस्तै चक्रपथतर्फ जाने सवारी साधन नरोकी सिधै चल्नेछन ।

‘फ्लाइओभर’ निर्माणको को कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ छ । 

तस्बिर–हरिशजंग क्षेत्री 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्