site stats
बाह्रखरी :: Baahrakhari
देश
जसले छुटायो भारतीय भूमिबाट ५८ नेपाली बन्धक, कसरी बनेको थियो योजना ?

काठमाडौं । भारतको नयाँ दिल्लीमा कार्यालय रहेको सामाजिक संस्था ‘किन इन्डिया’का निर्देशक हुन्, नवीन जोशी । पछिल्लो एक महिना उनको अधिकांश समय नयाँ दिल्ली र उत्तराखण्डस्थित काशीपुर तथा रुद्रपुर आउजाउमा बितिरहेको छ ।

“५–६ पटक भयो आऊजाऊ गरेको छ,” जोशीले बाह्रखरीसँग भने, “सूचना आउँछ, त्यसपछि कुदिहाल्छौं ।” 

जोशी नयाँ दिल्लीमा ‘किन इन्डिया’ नाम संस्था चलाएका नेपाली नागरिक हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनी नयाँ दिल्ली र काशीपुर तथा रुद्रपुर आऊजाऊ गर्नुपछाडि विशेष कारण छ । त्यो हो– भारतको काशीपुर र रुद्रपुरमा बन्धक बनेका नेपालीको उद्धार । 

“यो निकै गाह्रो काम हो । सूचना आएपछि त्यो ठीक हो वा होइन पुष्टि गर्न समय लाग्छ । सम्बन्धित ठाउँमा ‘रेकी’ गर्नु अझ कठिन । अनि स्थानीय प्रशासनको सहयोगमा उद्धार गर्नु झनै कठिन,” जोशीले पछिल्लो एक महिनाको अनुभव सुनाउँदै भने । 

नयाँ दिल्लीस्थित नेपाली दूतावासको पहलमा जोशी एक महिनादेखि नेपालीको उद्धारमा निरन्तर खटिँदै आएका छन् ।  फलस्वरुप पछिलो एक सातामा ५८ जना बन्धक नेपालीलाई काशीपुर र रुद्रपुरबाट उद्धार गर्न उनी सफल भएका छन् । 

उनकै अग्रसरतामा यही असार ५ गते काशीपुरबाट ३५ जना, असार ८ गते रुद्रपुरबाट २२ जना र असार ११ गते रुद्रपुरबाट १ जना गरी कुल ५८ बन्धक नेपालीको उद्धार गरिएको छ ।

“उद्धार गरिएका ५८ जनामध्ये ४० जनालाई बिहीबार विहान नेपालतर्फ पठाइसकेका छौं,” जोशीले जानकारी दिए । बाँकीलाई पनि प्रक्रिया पुर्‍याइ नेपाल पठाउने कार्य भइरहेको उनले सुनाए । 

रुद्रपुर र काशीपुरमा बन्धक बनाइएका नेपालीको उद्धार र उनीहरूलाई नेपाल फर्काउने काम सँगसँगै भइरहेको छ । 

***

एक महिनाअघि भारतको काशीपुरमा बन्धक बनेका दुई नेपाली भागेर ताप्लेजुङस्थित आफ्नो घर पुगे । त्यसपछि उनले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा निवेदन दर्ता गरे ।

उनीहरू थिए, फुङलिङ नगरपालिका–९ का २२ वर्षीय भाग्य लिम्बु र त्यही नगरपालिका वडा नं.६ का २० वर्षीय विजय लिम्बु । 

“ताप्लेजुङका तीन–चार जना युवालाई बन्धक बनाएका रहेछन् । तीमध्ये कुटपीट सहन नसकेपछि भाग्य लिम्बुले दाजुलाई बोलाए । दाजु पनि गएछन्, तर उनको उतै मृत्यु भयो । यसैक्रममा भाग्य लिम्बु र विजय लिम्बु भागेर आउन सफल भएछन् र उनीहरू हाम्रो सम्पर्कमा आएका थिए,” जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख वेद गौतमले बाह्रखरीसँग भने ।

भाग्य लिम्बुले दिएको निवेदनमा भारतको उत्तराखण्ड राज्यको काशीपुरमा आफ्नो दाजुको मृत्यु भएको र शव नेपाल झिकाउन सहयोग गरिदिन अनुरोध गरेका थिए । त्यतिमात्र होइन, उनले आफूलाई बन्धक बनाएको र भागेर आउन सफल भएको पनि सुनाए । 

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशाशन कार्यालयका कर्मचारी तब झस्किए जब उनले सयौं नेपालीलाई उत्तराखण्डको काशीपुर र रुद्रपुरमा एक गिरोहले बन्धक बनाएको सुनाए । 

“उनीहरूले ६ सयभन्दा बढी नेपालीलाई बन्धक बनाएर राखेको हामीलाई बताएका थिए,” गौतमले भने ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत काठमाडौंस्थित भारतीय दूतावास र नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराएका थिए । यो सूचना सामाजिक संस्था किन इन्डियासँग पनि सेयर गरियो । 

“प्रारम्भिक सूचनाका आधारमा नेपालीलाई बन्धक बनाएको कुरा साँचो हो भन्ने थाहा पाएपछि ताप्लेजुङबाट ती युवालाई हामीले नयाँ दिल्ली बोलायौं । उनी आए । त्यसपछि हामीले योजना बनायौं,” किन इन्डियाका निर्देशक नविन जोशीले भने । 

योजना बन्यो– मिसन काशीपुर । 

***

योजना बनेपछि जोशी रेकी गर्न काशीपुर पुगे । त्यहाँ पुगेपछि झन् धेरै जानकारी प्राप्त भयो । प्रत्यक्षदर्शी, पीडित सबैसँग छलफल गरेपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी दिइएको थियो ।

“सुरुको १५/२० दिन हामीले रेकी गरेर बितायौं,” जोशीले भने । 

त्यसपछि उत्तराखण्डको प्रहरीसँग समन्वय गरियो । छापा मार्न सबै तयारी गरियो । जोशी भन्छन्, “हाम्रो उद्देश्य बन्धक नेपालीलाई सुरक्षित उद्धार गर्नु मात्र थिएन, उनीहरूलाई त्यसरी बन्धक बनाउने गिरोहका नाइकेहरूलाई पनि पक्राउ गर्नुथियो ।”

अनुसन्धानका क्रममा गिरोहले नेपाली युवालाई काशीपुर र रुद्रपुरको दुर्गम स्थानमा राखेको खुलेको थियो । 

उनीहरूले पुरै घर नै भाडामा लिएर बन्धक बनाइएका नेपालीलाई राखेका थिए । स्थानीय प्रहरीको सहयोगमा यही असार ५ गते काशीपुरस्थित नेपालीलाई राखेको घरमा छापा मारिएको थियो ।

“सुरुका दिन काशीपुरको एउटै घरबाट ३२ जना नेपालीको उद्धार गरियो । तीन भागेका रहेछन् त्यही दिन केही बेरपछि हाम्रो सम्पर्कमा आए । उक्त दिन सबैगरी ३५ जनाको उद्धार गरियो,” जोशीले बताए । 

त्यसपछि टोली रुद्रपुरतर्फ लागेको थियो । काशीपुरमा छापा मारेको थाहा पाएपछि रुद्रपुरमा बन्धक बनाइएका नेपालीलाई गिरोहले अन्यत्र सारेको जोशी बताउँछन् । 

असार ८ गते रुद्रपुरमा छापा मारियो र २२ जना नेपालीको उद्धार गरियो । उनीहरूलाई गिरोहले भगाउँदै गर्दा जंगलबाट उद्धार गरिएको थियो ।

“हामीले छापा मारेको थाहा पाएपछि गिरोहले बन्धनबाट माग्न सफल भई काशीपुर र रुद्रपुरबाट डेढ सयभन्दा बढी नेपाली बन्धक नेपाल फर्केको सूचना हामीले पाएका छौं,” जोशीले जनाए । 

त्यसपछि रुद्रपुरबाट असार ११ गते एक जना युवा सम्पर्कमा आएका थिए । उनी गिरोहलाई छक्याएर भाग्न सफल भएका थिए । यसरी एक सातामा काशीपुर र रुद्रपुरबाट ५८ जना बन्धक नेपालीको उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये ९ जना १८ वर्षभन्दा कम उमेरका थिए ।

यस क्रममा स्थानीय प्रहरीले नेपालीलाई बन्धक बनाएर रकम असुल्ने गिरोहका तीनजना नाइकेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना नेपाली र दुई जना भारतीय नागरिक छन् ।

पक्राउ पर्ने नेपालीमा डोटीको शिखर नगरपालिका– १ का २१ वर्षीय वीरेन्द्र शाही छन् । 

पक्राउ परेका दुई भारतीयमा उत्तर प्रदेशको खानपुर जिल्लाको ग्राम कुडालम्बी थानका २८ वर्षीय सचिन कुमार र उत्तराखण्डको भवाली जिल्लास्थित बुडलाकोट रतिघाटका २६ वर्षीय मनिष तिवारी छन् । 

***

उद्धार गरिएकाहरूसँग त्यहाँको अवस्थाबारे सोधपुछ गरिएको थियो । जे कुरा पीडितहरूले बताए त्यो सुन्दा कहालीलाग्दो छ । 

“बन्धक बनाइएकाहरूलाई आधापेट पनि खान नदिने रहेछन् । गहुँको पिठोसँग दुई–तीनवटा साना आलु दिने गरेको उनीहरूले सुनाए,” जोशीले भने, “नुन पनि नदिने । कुनै दिन नुन दिए भने ‘घ्यु’ खान दिएझैँ गर्थे’रे ।”

पीडितहरूका अनुसार, उनीहरूलाई बन्धक बनाएपछि मुख्यतः तीन कुरा सिकाइन्थ्यो । यसका लागि उनीहरूलाई क्लास नै लिइन्थ्यो । 

“पहिलो, ब्रेन वास गर्ने गरी डायलग डेलिभर गर्न । दोस्रो, घरमा कल गर्न लगाइ आफूहरू ठीक रहेको बताउन । तेस्रो, मान्छेलाई कन्भिन्स गर्ने,” बन्धक बनाएपछि गिरोहले उनीहरूलाई यी तीन कुरा सिकाउने गरेको उनले बताए ।

आकर्षक जागिरको प्रलोभन देखाएर त्यहाँ लगी बन्धक बनाएपछि सुरुमा साथीभाइको सूची बनाउन गिरोहले लगाउँथ्यो । त्यसपछि म्यासेज र फोन गर्न लगाउँथे । 

फोनमा यहाँ राम्रो जागिर पाइने, महिनाको ३०–४० हजार सजिलै कमाउन सकिने, खाना बस्न राम्रो व्यवस्था रहेको जस्ता कुराहरू भन्न लगाउँथे ।

“यदि उनीहरूले आफ्ना साथीभाइलाई फोन गरेर त्यसो नभने कुटपिट गर्ने, डर त्रास देखाउने र मार्नेसम्मको धम्की दिने गरेका रहेछन्,” जोशीले सुनाए, ‘‘यस्तो आश्वासन आफ्नै साथीले दिएपछि खाडी राष्ट्र जान पासपोर्ट बनाएका कति यहाँ आएका रहेछन् ।”

एउटा घरमा १५० जनासम्म नेपालीलाई कोचेर राखिएको मुक्त भएपछि पीडितहरूले बताएका थिए । 

बन्धक भएका कुनै व्यक्ति यदि त्यहाँबाट भागेर नेपाल गए नेपालबाट थुतेर ल्याउने र प्रहरीले आफूहरूलाई केही नगर्ने भन्दै त्रास देखाउने गर्थे । 

घरमा फोन गर्ने बेलामा मात्र उनीहरूलाई मोबाइल दिइन्थ्यो । फोन गर्नेबेला वाईफाई राउटर अन गरिन्थ्यो । घरमा फोन गर्न लगाएर आफूहरू ठीकठाक रहेको बताउन लगाइन्थ्यो ।

***

दाङको तुल्सीपुर उपमहानगरपालिका– ८ का सन्दीप चौधरी ६ महिनाअघि भारतको उत्तराखण्ड राज्यको काशीपुर पुगेका थिए । चिने/जानेकै व्यक्तिले आकर्षक रोजगारीको प्रलोभन देखाएपछि उनी त्यहाँ पुगेका थिए ।

उनी काशीपुर पुगेपछि थाहा पाए त्यहाँ त भनेजस्तो रहेनछ । एउटा गिरोहको दबाबमा चिने/जानेको व्यक्तिले उनलाई त्यहाँ बोलाएका रहेछन् । ती चिने/जानेका व्यक्तिलाई कुटपिट मात्र होइन ज्यान लिने धम्की दिएर उनलाई बोलाउन बाध्य पारिएको रहेछ । 

सन्दीप काशीपुर पुग्ने बित्तिकै उनलाई पनि सोही गिरोहले बन्धक बनायो । बैंक खाता खोल्न र आधार कार्ड बनाउन पैसा लाग्ने भन्दै उनलाई घरबाट पैसा मगाउन लगाइयो । 

उनी बाध्य भएर २३ हजार भारतीय रुपैयाँ (३६ हजार ८०० नेपाली रुपैयाँ) बुझाए ।

त्यति गरेपछि उनलाई छाडिएन । बरु कुटपिट र यातना दिएर नेपालमा रहेका अर्को व्यक्तिलाई त्यहाँ बोलाउन भनियो । 

अनि बाध्य भएर उनले आफ्नै वडाका आशिष चौधरीलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर बोलाए । जसरी सन्दीप काशीपुर पुगेका थिए, ठीक त्यसरी नै आशिष एक महिनाअघि काशीपुर पुगे । 

नेपाली दूतावास र किन इन्डियाको पहलमा उद्धार गरिएका ५८ जना नेपालीमध्ये थिए, सन्दीप र आशीष । दुवै जना बनबासा बोर्डरबाट भारत प्रवेश गरेका थिए । आशीषले पनि गिरोहलाई २३ हजार भारतीय रुपैयाँ बुझाइसकेका थिए । 

“अपराधको शैली ‘नेटवर्क मार्केटिङ’ जस्तो देखिएको छ । एउटालाई बोलायो, बैंक खाता खोल्न र आधार कार्ड बनाउन भन्दै पैसा मगाउन लगाउने । त्यसपछि दबाब दिएर साथीभाइ बोलाउन लगाउने,” नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाले बाह्रखरीसँग भने ।

पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीको नाममा विभिन्न प्रलोभन देखाइ विदेश पुर्‍याउने र त्यहाँ बन्धक बनाई रकम असुल गरी दबाब दिएर आफ्ना साथीभाई बोलाउन लगाउने ठगीको ‘नयाँ ट्रेन्ड’ देखिएको छ । 
विगत दुई वर्षदेखि दक्षिणपूर्वी एसियाली राष्ट्रमा नेपालीलाई लगी यस्तै गर्ने गरिएको छ । 

सुरुमा एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी नेपालीलाई आकर्षक रोजगारीको प्रलोभनमा पार्ने र त्यहाँ पुगेपछि बन्धक बनाएर रकम असुली गर्ने । 

यसरी नै दक्षिणपूर्वी राष्ट्रहरू म्यानमार, कम्बोडिया, थाइल्यान्ड, लाओसमा बन्धक बनाई जबर्जस्ती काममा लगाइएका दुई सयभन्दा बढी नेपालीलाई पछिल्लो डेढ वर्षमा थाइल्यान्डस्थित नेपाली दूतावासले उद्धार गरी स्वदेश फर्काएको छ ।  

पछिल्लो समय भारतको उत्तराखण्डमा नेपालीलाई बन्धक बनाई रकम असुल्ने गरेको पाइएको हो । यसरी बन्धक बनाइएका ५८ जना नेपालीलाई पछिल्ला एक सातामा उद्धार गरिएको छ ।

पीडितहरूसँग गिरोहले १२ हजार देखि ५० हजार भारतीय रुपैयाँसम्म (१९ हजार २०० देखि ८० हजार रुपैयाँसम्म) उठाउने गरेको पीडितहरूले नयाँ दिल्लीस्थित नेपाली दूतवाासलाई बताएका छन् । उनीहरूलाई बनबासा र सुनौली बोर्डर हुँदै भारतको उत्तरखण्ड पुर्‍याउने गरिएको छ । 

***

‘मिसन– काशीपुर’ सकिएको छैन । अझै काशीपुर र रुद्रपुरमा थुप्रै नेपाली रहेको अनुमान छ । सबै बन्धकलाई मुक्त नगरून्जेलसम्म र गिरोहका सबै नाइकेहरू पक्राउ नपरुन्जेल मिसन चलिरहने किन इन्डियाका निर्देशक जोशी बताउँछन् । 

“हामी निरन्तर यो मिसनमा लाग्छौं । सँगसँगै सचेतना जगाउने काम पनि गर्छौैं,” जोशीले भने । 

यदि आफ्नो परिवारको कुनै सदस्य यसरी नै भारत गएको छ, आफ्नै साथीभाइ बारम्बार फोन वा म्यासेज गरेर आकर्षक जागिरको प्रलोभन दिइरहेको छ र घरमा रकम मागिरहेको छ भने आफूहरूलाई खबर गर्न उनको अनुरोध छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्