
काठमाडौं । दुई दिनअघि गायिका एलिना चौहानले एउटा फेसबुक प्रोफाइलको लिंक आफ्नो फेसबुक पेजमा सार्वजनिक गर्दै लेखिन्– यसलाई भाइरल हुन मनपर्यो रे सहयोग गर्यौँ ।
एलिनाको यो पोस्टको कमेन्टमा गएर अर्की गायिका समीक्षा अधिकारीले लेखिन्– अब कसैलाई छोड्ने नि छोड्ने होइन । जसले नेगेटिभ कमेन्ट गर्छ त्यसलाई यसैगरी रिविल (सार्वजनिक) गर्नुपर्छ ।
समीक्षाको कमेन्टको रिप्लाई गर्दै एलिना लेख्छिन्, ओके ।
समीक्षाले भनेजस्तै एलिनाले पछिल्ला दुई दिन लगातार केही प्रोफाइल सार्वजनिक गरिसकेकी छन् । जसले आफूलाई सामाजिक सञ्जालमा आएर अभद्र टिप्पणी गरेको छ, उसको फेसबुक प्रोफाइल एलिना धमाधम सार्वजनिक गरिरहेकी छन् ।
एलिनाको व्यक्तिगत जिन्दगी अर्थात् पारिवारिक विषयलाई जोडेर लगातार गाली गर्नेहरूको फेसबुक प्रोफाइल उनी सार्वजनिक गर्न थालेकी हुन् । केही समयअगाडि उनले आफ्नो वैवाहिक सम्बन्ध टुंग्याएकी थिइन् । उनको सोही निजी विषयलाई लिएर अनावश्यक आरोप लगाउने र तुच्छ गाली गर्नेहरूको हुर्मत लिन थालेकी हुन् ।
नेपालीमा एउटा उखान छ, ‘जस्तालाई तस्तै...’ शैलीमा एलिना उत्रिइन् । सेलिब्रिटी र सचेत व्यक्ति भएका नाताले गाली त उनले गर्न मिलेन । तर, बिनाकारण अर्कालाई तुच्छ गाली गर्ने को हो भनेर आम नागरिकमा पुर्याउने आफूमा रहेको अधिकार एलिनाले प्रयोग गरिरहेकी छन् ।
बिनाकारण गरिने गाली सहन आवश्यक नरहेको उनले बताएकी छन् ।
“जति नबोल्यो, जति चुप लाग्यो, जति सह्यो त्यति हेपाइ खाइँदोरहेछ । प्रिज्मा खतिवाडा, रिचा शर्मा, समीक्षा अधिकारीले कमेन्टबाहिर निकालेको देखेर अब चाहिँ शान्त हुन्छ होला, यत्तिकै ठिक हुन्छ होला भनेर मैले छोड्दिरहेको थिएँ,” उनले भिडियोमा भनेकी छन्, “सुरुसुरुमा मेरोमा कमेन्ट आउँथ्यो । भर्खरभर्खर भइरहेको छ, यो कुरा तात्तातै छ त्यही भएर आफ्नो धारणा राखेको होला भन्ने सोचिरहेको थिएँ । अनि के तिमीहरू चाहिँ सधैँ त्यही कुराले घोचेको घोच्यै गर्ने, जहिलेजहिले त्यही कुरा गर्ने, तिमीहरूको के खाइदिएको छ ?”
सार्वजनिक व्यक्ति र सेलिब्रिटी भएपछि आम नागरिकको गाली पनि सहनुपर्छ भन्ने मान्यता पनि रहेको छ ।
तर, व्यक्तिको नितान्त निजी विषयमा प्रवेश गाली गर्ने अधिकार कसैलाई छैन, चाहे त्यो सेलिब्रिटी होस् वा सार्वजनिक पदमा रहेको कोही व्यक्ति ।
यही विषय उठान गर्दै एलिना बिनाकारण कसैको गाली सहन नहुने बताउँछिन् ।
“सेलिब्रिटी, राष्ट्रिय कलाकार भएर सहनुपर्छ । कसले भनेको सहनुपर्छ भनेर ? सहनु पर्दैन । कसैले पनि सहनु पर्दैन । नराम्रो कुरा कसैले सहने होइन । मैले जिन्दगीमा यति कुरा चाहिँ सिकिसकेको छु, म अर्कालाई पनि नराम्रो गर्दिनँ र आफूलाई पनि नराम्रो हुन दिदिनँ,” उनी भन्छिन्, “अब म सबैलाई केस गर्नेवाला छु । यो कन्टिन्यु कमेन्ट गर्नेहरू कतिजना छन् भनेर टिपिसकेको छु । सहन नसकेर यो भिडियो बनाको होइन सहन नसकेर तपाईंहरूको कमेन्ट बाहिर निकानलेको पनि होइन । किन सहनु भनेर चाहिँ बाहिर निकालेको हो । तिमीहरूको घरमा दिदी बहिनी छैन कि । तिमीहरूलाई यति लेख्दा शान्ति हुन्छ कि मलाई थाहा छैन ।”
कसैलाई गरिने गालीले गाली गरिएको व्यक्ति मात्रै होइन उसको परिवारले पनि त्यसको मूल्य चुकाउनुपर्छ । परिवार पनि पीडित भइरहेको हुन्छ ।
“म सहन सके पनि मेरो आमाले नसहन सक्छ । मेरो बाबाले नसहन सक्छ । तिमीहरूले लेखेको कमेन्ट सबैले हेरिहेको हुन्छ,” एलिना भन्छिन् । अश्लील, अभद्र र अराजक कमेन्टले आफूलाई भन्दा पनि परिवारलाई तथा आफन्तलाई कठिन हुने गरेको उनी बताउँछिन् ।
“म आफैँ त देश/विदेश घुमेको, विभिन्न खालका व्यक्ति देखेकाले जसोतसो सहुँला,” एलिनाले बाह्रखरीसँग भन्छिन्, “तर, यसले मेरा ममी/बाबालाई धेरै गाह्रो हुनेरहेछ । आफन्तलाई गाह्रो हुनेरहेछ । समाजमा इज्जतको पनि त कुरा हुन्छ । अर्को कुरा सहेर बस्नुपर्छ भन्ने छैन ।”
पूजा गर्न मन्दिर गएको तस्बिर फेसबुकमा राख्दासमेत अनेक खालका गाली गर्ने गरेको उनी सुनाउँछिन् । कुनै पनि उपाय नलागेपछि आफूले सामाजिक सञ्जालबाट अराजक र अभद्र गाली गर्नेहरूलाई सार्वजनिक गर्न थालेको बताउँछिन् ।
“मैले सुरुमा यस्तो गालीगलौजपूर्ण कमेन्ट नगर्नुस् भनेँ । त्यति गर्दा पनि नभएपछि ब्लक गरेँ । ब्लक गर्दा पनि फेक अकाउन्ट खोलेर गाली गर्न थालेपछि अहिलेको उपाय अपनाउन बाध्य भएको हुँ,” उनी भन्छिन्, “फेसबुकबाट डिटेल सार्वजनिक गर्दा पनि भएन भने कानुनी उपचारका लागि अड्डाअदालत जान्छु ।”
कानुनी उपचार खोज्न भने त्यति सहज नरहेको उनको अनुभव छ । धेरै समय लाग्ने र महिनौँसम्म धाइरहनुपर्ने भएकाले कानुनी उपचार खोज्न सहज नरहेको उनी बताउँछिन् ।
“इमेलबाट पनि उजुरी दर्ता हुन्छ भन्नेछ । तर, मेल गर्दा कति दिनसम्म त्यसको रेस्पोन्स नै हुँदैन,” एलिना भन्छिन्, “प्रत्येक व्यक्तिको छुट्टाछुट्टै उजुरी लेख्नुपर्छ । महिनौँ दिनसम्म प्रहरी र अदालत धाउनुपर्छ । लामो समय लाग्दा काम गर्ने मान्छेलाई सजिलो छैन । त्यो पनि भित्रभित्रै मिलिसकेको हुन्छ ।”
ठूलै घटना भयो भने मात्रै तत्काल ‘रेस्पोन्स’ गर्ने अन्यथा प्रहरी प्रशासनले त्यसलाई महत्व नदिने गरेका कारण कानुनी उपचार खोज्न सरल र सहज नभएको उनी बताउँछिन् ।
तर, फेसबुकमा व्यक्तिको तस्बिरसहित प्रोफाइल सार्वजनिक गर्न थालेपछि यसको सकारात्मक प्रभाव पर्न थालेको उनी बताउँछिन् । “जब मैले प्रोफाइल सार्वजनिक गर्न थालेपछि यसको प्रभाव देखिन थालेको छ,” उनी भन्छिन्, “८० प्रतिशत कमेन्ट घटिसकेको छ । आउने २० प्रतिशत कमेन्ट पनि सम्हालिएर लेखेको देखिन्छ । पोजेटिभ कमेन्ट मात्रै आउन थालेको छ ।”
यसबाट पनि समस्याको समाधान नभएको अवस्थामा भने समय लागे पनि कानुनी उपचार खोज्न आफू तयार रहेको एलिना प्रष्ट पार्छिन् ।
“तुच्छ गाली गर्ने कोको छन् र कोकोविरुद्ध केस गर्ने भन्ने मैले लिष्टआउट गरिसकेको छु,” उनी भन्छिन्, “अड्डाअदालत नपुग्दै समस्याको समाधान हुन्छ भने किन जानु भनेर मात्रै हो ।”
पछिल्लो समय बिना गल्ती सामाजिक सञ्जालमा आफूविरुद्ध नकारात्मक गाली गर्नेहरूविरुद्ध कलाकारहरूले आवाज उठाउन थालेका छन् । केही दिनअगाडि गायिका समीक्षा अधिकारीले आफूलाई गाली गर्नेको फेसबुक प्रोफाइलको लिंक सार्वजनिक गरेकी थिइन् । तर, समीक्षालाई गालीगलौज गर्दै कमेन्ट गर्ने ती व्यक्तिले माफी मागेका थिए । माफी मागेपछि समीक्षाले ती व्यक्तिलाई माफी दिएकी थिइन् ।
पछिल्लो समय दबिएर र पेलिएर बस्नु हुँदैन भन्ने भावनाको विकास हुँदै गएको छ । यसलाई बढावा दिनुपर्ने एलिना बताउँछिन् ।
“हामी आफैँ पनि जागरुक हुुनुपर्छ । अरुलाई दुःख दिनु हुँदैन, चोट पुर्याउनु हुँदैन । तर, कसैले बिनाकसुर गालीगलौज गर्छ भने त्यसको प्रतिकार गर्न सक्नुपर्छ,” एलिना भन्छिन्, “जसले जे गरे पनि हुन्छ भन्ने भावना हटाउन पनि हामी स्वयम् जागरुक हुन आवश्यक छ ।”
तर प्रहरीको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले अहिलेसम्म गायिकाद्वय प्रहरीमा नआएको बताउँदै बिहीबार बाह्रखरीसँग भने, “उहाँहरु प्रहरीमा आउनुभयो भने हामी सहयोग गर्न तयार छौँ ।”
उनले सामाजिक सञ्जाल मापदण्ड उल्लंघन नगरेसम्म यसरी प्रतिक्रिया जनाइरहेका व्यक्तिको सूचना सम्बन्धित निकायबाट पाउन पनि गाह्रो हुने भएकाले केही प्रक्रिया लम्बिने बताए ।
उनी भन्छन्,‘‘हामीलाई आवस्यक सूचनाहरुमध्ये केही सामाजिक सञ्जाल कम्पनीहरुले आफ्नो मापदण्ड उल्लंघनभित्र नपरेको भनेर पनि सूचना दिँदैन । अर्को कुरा संसारभरबाट विभिन्न व्यक्तिमाथि साइबर अपराध गरेका हुन्छन् । त्यो हाम्रो जनशक्ति र प्राविधिक कुराले पनि समस्या गरेको छ । तर हामीले अप्ठेरोमा पर्नुभएका व्यक्तिहरुलाई सहयोग गर्न तयार छौँ ।”