
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षका लागि व्यावहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने बताएका छन् ।
बुधबार राष्ट्रिय सभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै पौडेलले कार्यान्वयनको सुनिश्चितताका साथ व्यावहारिक र वस्तुनिष्ठ बजेट निर्माण गरिने बताएका हुन् । बजेट कार्यान्वयनबाट मुलुक र आमनागरिकले प्रतिफल प्राप्त गर्ने उनले दाबी गरे ।
विनातयारीका आयोजनामा स्रोत सुनिश्चित नहुने यसअघिको परम्परालाई अन्त्य गर्ने उनले बताए । पौडेलले बजेट कार्यान्वयनमा देखिएको बाधा हटाएर सरकार अघि बढ्ने स्पष्ट पारे । विकासको ढाँचा, गति र संस्कृतिक परिवर्तन गर्नुपर्ने कुरालाई सिद्धान्त र प्राथमिकताले जोड दिएको उनले बताए ।
अर्थमन्त्री पौडेलले नीति तथा कार्यक्रमको अनुसरण गर्दै सिद्धान्त र प्राथमिकता ल्याएको बताए । अहिलेको विकासको ढाँचा परिवर्तन आवश्यक भएकाले त्यसमा समेत विशेष जोड दिइएको उनको भनाइ छ ।