site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी 
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि आतंकवादी हमलाको कडा प्रतिकार गरिने बताएका छन् । पाकिस्तानसँग चारदिने सैन्य टकराब अन्त्य भएपछि राष्ट्रका नाममा सोमबार राति सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । 

भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको हवाई आक्रमण र प्रत्याक्रमणको श्रृखंला र दुवै पक्षबीच सीमापार भारी गोलाबारीपछि पहिलो पटक जनतालाई सम्बोधन गर्दै मोदीले भने, “यो युद्धको युग होइन । तर, यो आतंकको युग पनि होइन ।” 

भारत नियन्त्रित कश्मीरमा आतंककारी हमलामा २६ जना पर्यटकको हत्यामा भारतले पाकिस्तानको हात रहेको बताएको थियो । पाकिस्तानले यसलाई खारेज गर्दै आएको छ ।

परमाणु हतियार भएका यी दुई छिमेकी देशबीच अमेरिकाको मध्यस्थतामा शनिबार युद्धविराम गर्ने सहमति भएको थियो । सो सहमति अहिलेसम्म कायम रहेको छ । दुवै राष्ट्रले सतर्क रहने बताएका छन् ।

सम्बोधनमा मोदीले भने, “यदि, भारतमा फेरि आतंकवादी हमला भएमा कडा प्रतिकार गरिनेछ । आतंक र व्यापारको विषयमा सौदावाजी हुन सक्दैन ।” 

मोदीको यो टिप्पणी युद्ध नरोके भारत–पाकिस्तानसँग अमेरिकाले व्यापारिक कारोबार बन्द गर्ने बताएपछि दुईदेशहरू युद्धविराम गर्न सहमत भएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइतर्फ इंगित थियो ।

मोदीले अगाडि भने, “पानी र रगत सँगै बग्न सक्दैनन् ।” मोदीको यो भनाइको संकेत भारत–पाकिस्तानबीचको सिन्धु जल सम्झौता निलम्बनको घटनातर्फ थियो ।

पाकिस्तानी प्रधानमन्त्री शेखबाज शरिफले दुई दिनअगाडि भनेका थिए, “हामीले जिम्मेवार राज्यको रूपमा काम गरेका छौँ । हाम्रो सम्मान र स्वाभिमान जीवनभन्दा मूल्यवान छ ।” 

उनले भारतसँगको सिन्धु जल सम्झौता विवाद शान्तिपूर्ण वार्ताबाट समाधान हुने विश्वास व्यक्त गरे । 

सोमबार नै भारत र पाकिस्तानका सैन्य अधिकारीहरूले युद्धविरामको विस्तृत विवरणमा छलफल गरेका छन् । उक्त वार्तामा भारतीय सेनाका अनुसार दुवै देशले आक्रामक कारबाही नगर्ने सहमति जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, “सीमा क्षेत्रबाट सैन्य संख्या कम गर्ने उपायहरू तुरुन्त अपनाउन सहमत भएका छन् ।” 

भारतमा सुरक्षा चासोका कारण बिहीबारसम्म बन्द रहका ३२ वटा विमानस्थलहरू खुला गरिएको छ ।

दुई देशबीचको लामो समयदेखिको कश्मीरको विवादमा यो तनाव नवीनतम अध्याय हो । दुई ठूला युद्ध लडिसकेका यी देशहरू पछि हट्न अस्वीकार गर्दै पूर्ण युद्धको नजिक पुगिसकेका थिए ।

अघिल्लो हप्ताको चार दिनसम्म भएको सैन्य टकराबमा दुवैतिर दर्जनौँ मानवीय क्षति भएको दाबी गरिएको छ । यसको प्रमुख कारण सीमानजिकै भएको भारी गोलाबारी मानिएको छ ।

शनिबार युद्धविराम घोषणा गर्दै ट्रम्पले धेरै मानिसको मृत्यु र विनाश हुनसक्ने भएकाले हालको आक्रमण रोक्ने बेला भएको बताएका थिए । युद्धविराम लागु भएपछि भारत र पाकिस्तान दुवैले सैन्य विजयको घोषणा गरेका छन् ।

भारतको कश्मीरको पहलगाम उपत्यकामा अप्रिल २२ मा भएको घटनाको प्रतिक्रियास्वरुप मे ७ मा भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरभित्र रहेका नौ स्थानमा आक्रमण गरेको बताएको थियो । 

पहिलो आक्रमणपछिका दिनहरूमा दुवै देशले एकअर्कामा सीमापार गोलाबारी गरेको आरोप लगाएका थिए । साथै आफ्नो हवाई सीमामा विपक्षको ड्रोन र विमान खसेको दाबी गरे । 

द्वन्द्व बढ्दै गएपछि दुवैले प्रतिद्वन्द्वीको सैन्य अड्डामा प्रहार गरेको बताए ।

भारतीय अधिकारीहरूले पाकिस्तान वायुसेनाका ११ अड्डामा प्रहार गरेको दाबी गरे । यसमा राजधानी इस्लामाबादनजिकैको रावलपिन्डी पनि समावेश छ । भारतले युद्धकालमा पाकिस्तानले नियन्त्रण रेखामा ३५ देखि ४० जना सैनिक गुमाएको र उनीहरूको वायुसेनाका केही विमान पनि गुमाएको बताएको छ । पाकिस्तानले भारतीय गोलावारुदहरू आफ्ना वायुसेना अड्डामा खसेको स्वीकार गरेको छ ।

भारतीय सुरक्षा बलहरूले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा नौ सशस्त्र समूहको प्रशिक्षण केन्द्रमा प्रहार गरी सयभन्दा बढी आतंकवादी मारेको दाबी गरेको छ । त्यसको प्रतिक्रियामा पाकिस्तानी सेनाले भारतमा २६ वटा सैन्य संरचनाहरूलाई आक्रमणको लक्ष्य बनाएको र उनीहरूका ड्रोनहरूले दिल्लीमा समेत आक्रमण गरेको दाबी गरेको छ ।

भारतले पाकिस्तानी गोलाहरू आफ्ना वायुसेना अड्डामा खसेको पुष्टि गरेको छ । तर, दिल्लीको दाबीबारे पाकिस्तानले अझै टिप्पणी गरेको छैन । 

पाकिस्तानले भारतका तीन फ्रान्सेली राफेलसहित पाँच विमान खसालेको दाबी गरेको छ । भारतले यसलाई स्वीकार गरेको छैन । तर, आइतबार युद्धमा क्षति हुनु सामान्य भएको जवाफ दिएको छ ।

पाकिस्तानले विमान दुर्घटनापछि भारतीय पाइलट आफ्नो कब्जामा छन् भन्ने दाबी खारेज गरेको छ । भारतले पनि सबै पाइलटहरू सुरक्षित घर फर्किएको बताएको छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro