
काठमाडौं । हमासद्वारा गाजामा १९ महिनादेखि बन्दी बनाइएका इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डरको आफ्नो परिवारसँग पुनर्मिलिन भएको छ ।
सन् २०२३ अक्टोबर ७ मा गाजा सीमामा इजरायली सेनाको गस्तिमा रहेकाबेला २१ वर्षीय एडनलाई हमास आतंकबादीले कब्जा गरी बन्दी बनाएको थियो ।
एडनलाई सोमबार हस्तान्तरण गर्ने प्रक्रिया सजिलो पार्न इजरायलले गाजामा केही घण्टाको लागि सैन्य अभियान अस्थायी रूपमा रोकेको थियो ।
हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई भने, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मंगलबारदेखि हुने पश्चिम एसिया भ्रमणअघि युद्धविराम सम्झौताको लागि प्रयास र सद्भावनाको संकेतको रूपमा यो रिहाइ गरिएको हो ।”
एडन अलेक्जेन्डर हमाससँग रहेका अन्तिम जीवित अमेरिकी नागरिक हुनसक्ने बताइएको छ । उनको रिहाइपछि राष्ट्रपति ट्रम्पले परिवारलाई बधाई दिएका छन् ।
टेलिभिजनका दृश्यहरूमा एडनले इजरायली सैन्य अड्डामा आमाबुवा र दाजुभाइलाई अंकमाल गर्दै मुस्कुराउँदै गरेको देखिएका छन् । उनको परिवारले अमेरिकी राष्ट्रपतिलाई धन्यवाद दिँदै इजरायली सरकार र वार्ताकारहरूलाई बाँकी ५८ बन्दीलाई मुक्त गर्न आग्रह गरे ।
दुई महिने युद्धविराम समाप्त भएपछि १८ मार्चदेखि इजरायलले पुनः सैन्य अभियान थालेपछि हमासले रिहा गरेको एडन पहिलो बन्दी हुन् । बीबीसी