
काठमाडौं । बाल मन्दिरको जग्गा अनधिकृत भाडा प्रकरणमा तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध ठगी मुद्दा दर्ता भएको छ ।
महान्यायाधिवक्ता कार्यालयको मुद्दा चलाउने निर्णयको भोलिपल्टै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
यसअघि सीआईबीले अनुसन्धान गरी पक्राउ पुर्जी समेत जारी भइसकेपछि उसको प्रतिवेदनमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । उक्त निर्णय उच्च सरकारी वकिलको कार्यालयले सदर गरी फाइल महान्यायाधिवक्ताकोमा पठाएको थियो ।
नक्सालस्थित बृहस्पति विद्यासदन रहेको बाल मन्दिरको जग्गा भाडा प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले केही दिनअघि मुद्दा चलाउने निर्णय गरी मंगलबार जिल्ला सरकारी वकिलमा पठाएको थियो ।
मुद्दामा सिंहसहित १७ जनाविरूद्ध ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बिगो दाबी गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।